मन र मत जित्ने बाटोतिर लागौं

मन र मत जित्ने बाटोतिर लागौं

फागुन २१ गते सम्पन्न गर्नुपर्ने संसदीय निर्वाचनको लागि शुक्रबार पाँच ठूला दलका प्रतिनिधिसहित ४ वटै सुरक्षा फौजका कमाण्डरहरुको संयुक्त बैठक बस्दा सुधन गुरुङलगायतले चुनावमा भाग लिन र चुनाव हुन नदिने जस्ता अभिव्यक्ति दिएको बेला कसरी चुनाव गराउनुहुन्छ भन्ने सवाल खडा गरिएको थियो ।

चुनावमा भाग लिने दलहरूले हो, तिनलाई नै निष्पक्ष र धाँधलीरहित वातावरणको विश्वास दिलाउने काम निर्वाचन आयोग र विशेषगरी सुरक्षा निकायको हुने गर्दछ । जेनजीतिर हाहु गर्दै हिँड्ने समूहको संख्या अत्यधिक छ । यस्तो बखत खुला सीमाक्षेत्रबाट हुन सक्ने घुसपैठ रोक्न पनि सुरक्षाफौज सक्षम छ भन्ने सन्देश प्रवाह हुनु आवश्यक छ । यसै सिलसिलामा २२ दिन सीमा क्षेत्रको अवस्था अनुगमन सकेर चार जना सशस्त्रका हाकिमहरु भर्खरै राजधानी फर्किएका छन् । 

अर्कोतर्फ भाद्र २४ गते जेल तोडेर भागेका करिब १४ हजार ९ सय कैदीबन्दीमध्ये साढे चार हजार अझै सम्पर्कमा आएका छैनन् । यीमध्ये केही भारततर्फ लुकेर मजदुरी गर्न थालेका छन् । ०६४ सालमा नेपाल प्रहरीका ८० प्रतिशत युनिटसुरक्षा थ्रेटका कारण समाहित भएका थिए । सेनालाई ब्यारेकभन्दा ५ किलोमिटर टाढा निस्कन दिइएको थिएन । ललितपुर जिल्लाकै भट्टेडाँडासम्म पनि प्रहरी पुग्न नसक्दासमेत चुनाव भएको थियो ।

अहिले अवस्था फरक छ । सुरक्षाकर्मीहरूको तैनाथी सबैजसो ठाउँमा छ । सुधन गुरुङका गतिविधिकै कारण चुनाव हुँदैन भन्न मिल्दैन । अहिले जेनजीका नाममा १ सय जना भेला भएर जुलुस निकाल्नसक्ने अवस्था छैन । आफ्ना समर्थक र कार्यकर्ता बिच्किएको, जनमत कमजोर भएकाले चुनावमा जाँदा घाटा लाग्ने कुराको हिसावकिताव निकालेर चुनावदेखि पन्छिन खोज्नु श्रेयस्कर हुँदैन । एमाले महाधिवेशनका निम्ति ७ लाख संगठित सदस्यहरूको ६० प्रतिशतभन्दा बढीले प्रतिनिधि छनोटमैं भाग नलिएको अवस्थामा आम चुनावको परिणाम के होला भन्नु अर्कै विषय हो ।

नेपाली कांग्रेस आफैँमा नेतृत्व छनौटको रस्साकस्सीमा यस्तो अवस्थालाई ढाकछोप गर्दै सुरक्षा थ्रेटको कुरा उठाएर चुनावबाट भाग्ने प्रयास गर्नु लोकतान्त्रिक दलहरूका निम्ति सुहाउँदिलो कुरा हुन सक्दैन । जेनजी प्रदर्शनका हाइज्याकर सुधन गुरुङसँग डराएर चुनावबाट तर्किन खोज्ने दलहरू त बलिया पनि हुन सक्दैनन् । ठूलै सुरक्षा थ्रेटका बीच विगतमा सम्पन्न थुप्रै निर्वाचन स्मरणीय छन् । त्यसो त रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कुलमान घिसिङ्को उज्यालो नेपाल र बालेन साहलाई मिलाउँदा कांग्रेस र एमालेलगायत परम्परावादी दलहरूसमक्ष ठूलै चुनौती खडा गर्छ भन्ने पनि लागेको होला ।

पश्चिमाहरू हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई समेत मिलाउने प्रयासमा भए तापनि त्यतातिर पार लाग्ने देखिन्न । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो, जहाँ नागरिकहरूले आफ्नो अभिमत प्रकट गर्छन् । त्यसका लागि जुनसुकै मूल्य चुकाएर भए पनि दलहरू अग्रसर हुनु आवश्यक छ । जेनजी आन्दोलनले अरु जे जे भन्न खोजेता पनि सबै पक्षको भावना समेटेर आफूलाई सच्याउँदै पुनः जनताको मन र मत जित्नु प्रमुख अभिभारा हो । संसद पुनःस्थापनाको कानुनी लडाइँ मन बुझाउने मेलोसम्म हो, पार लाग्ने उपाय हुँदै होइन । 
 

टिप्पणीहरू