एमाले उपाध्यक्षको जिल्लामा तनाव, पूर्व सांसदद्वारा पार्टी परित्याग
नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको सूचीमा रुपन्देही जिल्लाबाट एक जनाको पनि नाम नपरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । हिजो साँझ रुपन्देहीका एमाले कार्यकर्ताले बुटवलस्थित पुष्पलाल स्मृति भवन घेराउ र प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले केन्द्रीय नेतृत्वले रुपन्देही जिल्लालाई अपमान गरेको आरोप लगाए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गृहजिल्ला समेत रहेको रुपन्देहीबाट समानुपातिकतर्फ एक जना पनि उम्मेदवार नपर्नु आश्चर्यजनक र अस्वीकार्य भएको उनीहरूको भनाइ छ।
एमालेको समानुपातिक उम्मेदवार सूची महासचिव शंकर पोखरेलले तयार पारेकाले त्यसो भएको उनीहरुको आरोप छ । सूचीमा पुरुषतर्फ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल पहिलो नम्बरमा परे पनि रुपन्देहीबाट कोही पनि समेटिएनन् ।
पछिल्लो समय महासचिव पोखरेलले रुपन्देहीका नेताहरूलाई कार्यविभाजनमा समेत कुनै भूमिका नदिने रणनीति अपनाएपछि असन्तुष्टि चुलिएको बताइन्छ । उपाध्यक्ष पौडेललाई उनकै गृह जिल्लामा एक्ल्याउने उद्देश्यले योजनाबद्ध रूपमा कदम चालिएको भन्दै असन्तुष्ट पक्षले यसलाई आन्तरिक शक्ति संघर्ष भनेको छ ।
जिल्लाका कतिपय नेताले महासचिव समूहले उपाध्यक्ष पौडेललाई क्रमशः वामदेव गौतमको हैसियतमा पुर्याउन खोजेको आरोप लगाएका छन् । उनीहरुका अनुसार गत महाधिवेशनमा पौडेल निकट केन्द्रीय सदस्य उम्मेदवारहरूलाई सूचीबाहिर राखेर पराजित गराइएको थियो । पौडेलका विश्वासपात्र भनेर चिनिएका लीला गिरी र वासुदेव घिमिरे केन्द्रीय सदस्यमा पराजित भएका थिए । महासचिव पोखरेल निकट भूमिश्वर ढकाललाई रुपन्देही जिल्ला इन्चार्ज बनाउने तयारी भइरहेको उनीहरुको बुझाइ छ ।
हिजैदेखि एमाले पूर्व सांसद वासु घिमिरेले पार्टी छाडेका छन् । गत आमनिर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित घिमिरेले पार्टी मुख्य नेतृत्वले जनअपेक्षालाई सम्बोधन नगरेको कारण देखाउँदै परित्यागको घोषणा गरेका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरमा विजयी भएका थिए । रास्वपाले प्रधानमन्त्रीमा अगाडि सारेका काठमाडौंका मेयर बालेन साहसँग निकट उनले आगामी निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रको सट्टा उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्ने सम्भावना देखिन्छ ।
टिप्पणीहरू