जागिरको प्रलोभनमा ठग्नेहरू
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई काठमाडौं र एक जनालाई ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४९ वर्षीय डम्बरबहादुर तामाङ्ग र गोदावरी नगरपालिका–१४ बस्ने ३० वर्षीय सरोज पोखरेल रहेका छन् । कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यका अनुसार ममताले आकर्षक तलबमा क्यानडामा जागिर लगाइदिने भन्दै पीडितबाट २३ लाख रुपैयाँ लिएकी थिइन् ।
त्यस्तै, डम्बरले रोमानिया लैजाने भन्दै ६ लाख र सरोजले युएई पठाइदिने भन्दै तीन लाख ६४ हजार रुपैयाँ उठाएका थिए । तर, उनीहरु विदेश नपठाई सम्पर्कविहिन भएपछि पीडितहरुले जाहेरी दिएका थिए । कार्यालयबाट खटिएको टोलीले ममता र सरोजलाई हिजो र डम्बरलाई आज समातेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसपी आचार्यले जानकारी दिए ।
टिप्पणीहरू