ससुराको नाममा ज्वाईंलाई अप्ठेरो
नेपाल कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई आफूले समानुपातिक बन्दसूचीमा नराखेको स्पष्टीकरण दिएका छन् ।
पूर्व मन्त्री समेत रहेका केसीलाई पार्टीले समानुपातिक बन्दसूचीमा राखेपछि यतिबेला सामाजिक सञ्जालमा ‘ससुरालाई सांसद बनाउन लागिएको’ भन्दै विभिन्न टिकाटिप्पणी सुरु भएको छ । उक्त पृष्ठभूमिमा महामन्त्री थापाले आफ्नो धारण सार्वजनिक गर्दै केसीलाई बन्दसूचीमा राख्न आफ्नो कुनै हात नरहेको प्रस्ट पारेका हुन् । ‘अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ’, उनले भनेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु कि यो मेरो चाहना विपरित हो, मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।’
आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका थापाले नेता केसीसँग चुनाव लडेको स्मरण गर्दै पुराना नेतालाई समानुपातिकमा व्यवस्थापन गर्न खोजिनु उपयुक्त नरहेको समेत बताएका छन् । ‘जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एकअर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौँ, यसपटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो’, उनले थपेका छन् ।
टिप्पणीहरू