‘कुखुरा, बाख्रा र स्यालले जति मोर्चा गरे पनि बाघको शिकार गर्न सक्दैनन्’

‘कुखुरा, बाख्रा र स्यालले जति मोर्चा गरे पनि बाघको शिकार गर्न सक्दैनन्’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाख्रा जति बलियो भए पनि बाघको पन्जाबाट उम्किन नसक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गरेका छन् । राजधानीमा आयोजित एक विचार गोष्ठीमा बोल्दै उनले ‘घैटामा पानी बोकेर सागरसँग प्रतिस्पर्धा गर्न खोज्नु मुर्खता’ मात्रै रहेको बताए । 

रास्वपा नेताहरुले रवि लामिछाने, कुलमान घिसिङ र बालेन साहको एकतापछि पार्टी थप बलियो बनेको दावी गरिरहेको पृष्ठभूमिमा अध्यक्ष ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघ र सिंहको शिकार गर्न सक्छ र भन्या !’, अगाडि भने, ‘यसो यता हेर्छन् एमाले छ, उता हेर्छन् कांग्रेस छ, दुवैसँग सक्दैनौँ भन्ने भएपछि मिलेका हुन्, तर घैंटामा पानी बोकेर महासागरसँग प्रतिस्पर्धा गर्छु भनेर नसोचे हुन्छ, त्यो मुर्खता मात्रै हो ।’ 

ओलीले भदौ २३ र २४ गतेको घटनालाई क्षणिक ‘आँधी’को संज्ञा दिए। रवि, कुलमान र बालेनहरुले मुलुकलाई बंगलादेश बनाउन खोजेको, तर एमाले र कांग्रेसले जोगाएको दावी छ । ‘अराजक र अपराधीहरु एकाएक चम्किएका छन्, आँधी-हुरी र बाढी आउने पनि एकाएक नै हो’, उनले थपे, ‘उनीहरु त त्यतिबेला मुलुकलाई बंगलादेश बनाउन चाहन्थे, तर त्यसो हुन पाएन, किनभने यो देशमा लोकतन्त्रलाई माया गर्ने एमाले र कांग्रेस थिए ।’ 

एमाले र कांग्रेस नभएको भए भदौ २४ गते नै मुलुक बंगलादेश बनिसकेको हुने उनको जिकिर छ । अब, त्यस्तो कल्पना पनि नगर्न ओलीले चेतावनी दिएका छन् ।

टिप्पणीहरू