एमालेको बन्दसूचीमा बादललाई रोक्न खोजिएपछि...
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले आफूलाई समानुपातिक बन्दसूचीमा समावेश गर्न पार्टी हिच्किचाएकोमा दु:खेसो पोखेका छन् । ११औँ राष्ट्रिय महाधिवेशनपछि बसेको पहिलो सचिवालय बैठकमा उनले आफूलाई समानुपातिक उम्मेद्वार बन्नबाट झण्डै बञ्चित गराइएकोमा असन्तुष्टी जनाएका हुन् ।
समानुपातिक बन्दसूचीमाथि छलफल गर्न अस्ति अपरान्ह च्यासलमा सचिवालय बैठक बसेको थियो । सूचीको अग्रस्थानमै थापाको नाम देखेपछि अर्का उपाध्यक्ष गोकर्ण विष्टले ‘पुरानाभन्दा नयाँ अनुहारलाई प्राथमिकता दिने हो कि !’ भन्दै पुनर्विचार गर्न आग्रह गरेका थिए । ‘गोकर्ण कमरेडको भनाई स्पष्ट थियो- भदौ २३ पछिको घटनाले नयाँ अनुहार खोजिरहेको छु, समयको मागलाई प्राथमिकतामा राख्यौँ भने राम्रो म्यासेज जान्छ होला’, जानकार स्रोतले भन्यो, ‘त्यसमा उपममहासचिव (योगेश भट्टराई) कमरेडले पनि अरु पुराना कमरेडहरुको हकमा पनि त्यही गरौँ भन्दै सहमत जनाउनुभयो ।’
त्यसपछि उपाध्यक्ष थापाले कम्युनिष्ट आन्दोलनमा ‘मेरो पनि योगदान छ’ भन्दै गुनासो गरेका थिए । उनले आफू हेपिएको अनुभूत गर्दै कम्युनिष्ट आन्दोलनमा दिएको योगदान स्मरण गराएकाे बताइन्छ । ‘अरु कमरेडहरुले आफ्ना मान्छेहरुलाई अघि सार्दा मैले त झन् कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिएको छु, पार्टीले यत्ति कुरामा पनि मेरो लागि धेरै नहिच्किचाओस् भन्ने विश्वास गर्छु भन्दै भावुक हुनुभयो’, सोही स्रोतले थप्यो ।
थापाको कुरा सुनेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईलाई संकेत गर्दै धेरै विरोधी छवि बनाउन आवश्यक नरहेको बताएका थिए । ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘जे मा पनि विरोध गर्ने बानी राम्रो हैन कमरेडहरु, आवश्यकता अनुसार नेताहरुको व्यवस्थापन गर्ने जिम्मेवारी नेतृत्वको हो ।’
त्यसपछि ओलीले बन्दसूचीबाट उपाध्यक्ष थापाको नाम नहट्ने अडान लिदै अघि बढेका थिए । पार्टीले थापासहित गुरु बराल, पद्मा अर्याल, कोमल वली, शान्ता चौधरीलगायतलाई प्राथमिकतामा राखेर समानुपातिक बन्दसूची निर्वाचन आयोगमा गएराती अबेर बुझाइसकेको छ ।
टिप्पणीहरू