अबदेखि संसदमा ‘नेपाल आइडल’ !
राष्ट्रिय स्वतन्त्र पार्टीमा सञ्चारकर्मीको कमी छैन । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धक निर्देशक समेत रहेका सभापति रवि लामिछानेमाथि पार्टीमा ‘पूर्वसहकर्मीहरुको क्लब’ बनाएको आरोपसमेत लाग्दै आएको छ । विगतमा विनिता कठायत, क्रान्तिशिखा धिताल, दिपक बोहरा, प्रमोद न्यौपाने, विपिन आचार्यहरुले मलजल गर्दै आएको उक्त आरोपलाई बल पुग्नेगरी राजिव खत्री, भोजराज थापालगायत सञ्चारकर्मी थपिएको देखिन्छ ।
यसैबीच रास्वपाले समानुपातिक बन्दसूचीमा थुप्रै सेलिब्रेटीको नाम राखेको छ । गायिका, मोडलदेखि पूर्व मिस नेपालसम्मलाई उम्मेद्वारको सूचीमा समावेश गरेको रास्वपाको उक्त कदमलाई कतिपयले ‘पत्रकार र कलाकारको सन्तुलन मिलाउने प्रयास’ भनेर व्यङ्ग्य गर्न थालेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्दा समाजिक सञ्जालको बहिष्कारमा परेका प्रकाश सपुतलाई रास्वपाले दलित कलस्टरबाट उम्मेद्वार बनाएको छ । लोकदोहोरी गीत हुँदै चलचित्रमा होमिएका उनले पछिल्लो समय करोडौँ रकम डुबाएको बताइन्छ । एकपछि अर्को चलचित्र फ्लप हुन थालेपछि सपुत रास्वपातिर लागेको बताइएको छ ।
त्यस्तै, मोडल तथा पूर्व मिस नेपाल अनुस्का श्रेष्ठ पनि महिला उम्मेदवारको सूचीमा परेकी छन् । पछिल्लो समय व्यवसायमा सक्रिय उनी असिम साह मार्फत् रास्वपामा जोडिएकी हुन् । रमाइलो कुरा के भने, असिमका दाई आशिफलाई पनि पार्टीले समानुपातिक बन्दसूचीमा राखेको छ । निर्देशक तथा प्रस्तोता उनी लामिछानेका कट्टर समर्थक हुन् । थप रोचक, आशिफकै पूर्व सहकर्मी तथा अभिनेत्री रिमा विश्वकर्मा समेत उम्मेद्वारको सूचीमा परेकी छन् । कुलमान घिसिङको टिमबाट सांसद बन्ने दौडमा देखिएकी रिमा र आशिफ सामानुपातिक बन्दसूचीमा परेपछि दिल निशानी मगर कटाक्ष गर्छन्, ‘कति राम्री हुन्, संसद भवनभित्र पनि नेपाल आइडल चलाउलिन् जस्ती !’
रास्वपाको समानुपातिक बन्दसूचीमा अटाउने अन्य सेलिब्रेटीमा गायिका सत्यकला राई, त्रिशला गुरुङ, व्यवसायी विदुषी राणालगायत छन् ।
टिप्पणीहरू