अध्यक्ष र महासचिवको गाली, सन्न्यास लिए नेपाली

अध्यक्ष र महासचिवको गाली, सन्न्यास लिए नेपाली

गत साता सकिएको एमाले महाधिवेशनको भित्री कुरा विस्तारै बाहिरिन थालेका छन् । शुरुमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले सक्रिय राजनीति नगर्ने घोषणा गर्नासाथ कम्तिमा १ दर्जनभन्दा बढी नेता/कार्यकर्ताले त्यसलाई पच्छ्याए ! जसमा माओवादीको उद्गमथलो रोल्पाली कान्छी केन्द्रीय सदस्य ईश्वरी जिएमदेखि पिस्कर काण्डमा जेल बसेका सिन्धुपाल्चोकका सरेश नेपालसम्म थिए ।

सरेश नेपाल २०४९ सालमा नै सिन्धुपाल्चोकको जिविस उपसभापति र २०५४ मा सभापति तथा २०७४ को पहिलो प्रदेशसभा निर्वाचनपछि मन्त्री (२०७७), २०७८ को महाधिवेशनपछि केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज भएका व्यक्ति हुन् । २०७९ को निर्वाचनमा माओवादीका माधव सापकोटाले ३०४०८ मत ल्याउँदा नेपाल २७०६६ मतसहित ३३४२ मतले पराजित भएका थिए । 

तिनै सरेश नेपालले आइन्दा राजनीति गर्दिन भन्दा धेरैले प्रशंसा गरे ! तर उनले उम्मेदवारी नदिएको कारण जनआस्थाले पत्ता लगाएको छ । निकट श्रोतका अनुसार उनी पोलिटव्युरो बन्न चाहन्थे । तर बाधक भयो आफू इञ्चार्ज भएको जिल्लाबाट महाधिवेशन प्रतिनिधि ल्याउँदा खानुपरेको खप्की ।

संस्थापनबाट जम्मा ५ मात्र !

जेनजी आन्दोलनमा घर जलेपछि महासचिव शंकर पोखरेल कोटेश्वरको एक अपार्टमेन्टमा बस्छन् । एकदिन उनलाई भेट्न सरेश नेपाल, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ र महाधिवेशन प्रतिनिधिमा पराजित अशोक चौलागाईंंसहित पुगेका थिए । कोठामा छिरेलगत्तै कम बोल्ने महासचिवले गालीको वर्षा गरेपछि उनीहरु एजेन्डा प्रस्तुत नगरी फर्केका थिए । ‘बागमतीमा सिन्धुपाल्चोकलाई ४ वर्ष देखि हामीले छुट्टै ढंगले ग्रुम गरेका थियौं, अन्य जिल्लालाई भन्दा बढी प्राथमिकतामा राखेका थियौं, तर तपाईंहरूले १७ जनामध्ये ५ जना मात्र ल्याउनु भएछ । यसरी कसरी राजनीति गर्नुहुन्छ ? यस्ता प्रश्न राखिएपछि सरेश नाजवाफ भए । ५ जना प्रतिनिधि हस्त पण्डित, होमनारायण श्रेष्ठ, सुनिता पराजुली, बालकुमारी सापकोटा र दलित मथुरा बिक (नबिन घतानी) हुन् ।

निर्वाचन क्षेत्र नं २ मा जिल्ला सचिव कृष्णगोपाल तामाङ र युवामा हिरा चौलागाईंंलाई गुट परिवर्तन गरेर ल्याइएको भनिए पनि सचिव शेरबहादुर तामाङको मान्छे र हिरा डम्बर अर्यालसहित सुवास कर्माचार्य पक्षधर हुँदा ती नेताको नाक जोगाउन मात्र ल्याइएका हुन्, जिल्लाका एक प्रभावशाली नेताले बताए । दुबै जना १० बुँदे समूहको तथा केपी ओलीलाई नरुचाउने पात्र हुन् । चौलागाईंं चोक–चोकमा बसेर केपी ओली र शंकर पोखरेलको आलोचना गर्दछन् भने कृष्णगोपाल तामाङ शेरबहादुर तामाङ संविधानसभाको सदस्य हुँदाका स्वकीय सचिव हुन् । 

शंकर पोखरेललाई भेटेको भोलिपल्ट गुण्डु पुगेका उनले लामो पर्खाइपछि भेट्न पाउँदा शुरुमै व्यंग्य खानुपर्‍यो । ‘सिन्धुपाल्चोकका साथीहरूलाई बधाई छ है, हाम्रो पक्षमा ९५ प्रतिशतभन्दा धेरै प्रतिनिधि ल्याउन सफल हुनुभएछ ।’ हरेक गतिविधि मसिनो ढंगले हेरिरहेका छौं भन्दै झपार खानुपर्दा टोली नाजवाफ भएर फर्केको थियो ।

सुरेन्द्र पाण्डे भेट्ने हिरा र कृष्णगोपाल

११ औं महाधिवेशनमा महासचिवको प्रत्यासी सुरेन्द्र पाण्डेलाई भेट्न हिरा र कृष्णगोपाल स्वयम्भू पुगेका थिए । उनीहरूले हजुरलाई सहयोग गर्छौं भनेकोमा सुरेन्द्रले यस्तो बेला टिमलाई नै सहयोग गर्नुस्, मलाई गरेर खासै केही हुन्न भनेको बताइन्छ । राजनीतिमा इमान चाहिन्छ, कहिले यता, कहिले उता गरेर हुन्न, अहिले राजनीति र एजेण्डा हामीले जितेका छाैँ भनेपछि हस् हजुर भन्दै कृष्ण र हिरा फर्केको समेत चर्चा छ । बागमतीलगायत जिल्लामा सुरेन्द्र पाण्डेको राम्रो प्रभाव छ । कृष्णगोपाल ०७७ सालमा केपी ओलीले संसद विघटन गर्दा मेलम्ची बजारमा सटर बन्द गर्दै हिँडेका थिए । त्यतिबेला उनी जिल्ला समन्वय प्रमुख थिए ।

(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)  

 

टिप्पणीहरू