विमानस्थलमा अझै धेरै छन् बेथिति
खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? रमेश लेखक र गोकर्णमणि दुवाडीका ‘एस म्यान’हरूले भिजिट भिसाको नाममा गडबडी गरे भनेर अख्तियारमै बसेका सहसचिव नरहरि घिमिरेलाई त्रिवि अध्यागमन एयरपोर्टको हाकिम बनाएर मात्र पठाइएन कि विकृति रोक्न मापदण्डै परिवर्तन पनि गरियो तर बिचौलियासँग मात्र मिल्ने प्रवृत्तिमा २० को १९ भएको छैन ।
अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अधिकृतद्वय हेमन्ती साउद र बबिता मरासिनीलाई जिल्ला प्रशासन कार्यालय, डडेलधुरा र ईलाका प्रशासन कार्यालय पाल्पा रामपुरतिर सरुवा गरेर जोगाएको फेला परेको छ । तिनलाई सरुवा गरेर उन्मुक्ति दिइए पनि उच्च तहका कर्मचारीमाथि भने छानबिन नै नभएको बताइन्छ । भिजिट भिसामा ओमान जान लागेका यात्रुलाई ‘अफलोड’ गरेको सूचनाका आधारमा आन्तरिक छानबिन गर्दा कैफियत भेटिएको छ ।
भिजिट तथा पर्यटक भिसामा जानेहरूबाट ‘सेटिङ’मा हुने असुली नियन्त्रण गर्न गृहले कात्तिक १३ देखि नयाँ मापदण्ड लागू गरेको थियो । सोअनुसार राहदानी, भिसा र गन्तव्यसम्मको हवाई टिकट भएमा यात्रुहरू जान पाउने व्यवस्था छ । उसो त यस्तो खेतीपातीमा पछिल्ला दुईवर्षमा मात्र ४ हजार ६ सय ५८ यात्रु विदेश उडेको विस्तृत विवरण जनआस्थाको हात लागेको छ । भिजिट भिसाको खेतीपाती रोक्नका लागि टिआइए प्रमुखमा नरहरि घिमिरेलाई खटाइएको छ । वरिष्ट अध्यागमन अधिकृतमा कमान सिंह थापा मगर, अच्युत ढुंगाना र फणीन्द्र पौडेल छन् । यिनै तीन उपसचिवहरूको संयोजनमा नयाँ ग्रुप विभाजन गरी विभिन्न प्रयोजनका लागि पर्यटक भिषामा विदेश जाने व्यक्तिलाई महिलाको हकमा २५ हजार र पुरुषको हकमा १५ हजार विभिन्न ट्राभल एजेन्सी र मेनपावरमार्फत लिने गरिएको गुनासो छ ।
स्रोतका अनुसार, २३ नोभेम्बर र २४ नोभेम्बरको सिसिटिभी फुटेजमात्र हेर्ने हो भने सबै विवरण खुल्छ । २३ को बिहानी समूहदेखि विभिन्न बहाना बनाई यात्रुलाई प्रस्थान अनुमति नदिनेजस्ता गतिविधि निरन्तर चलिरहेको र नोभेम्बर २४ को बिहानी समूहले २४ जना यात्रुलाई त्यसरी फर्काएको, दिवा समूहले १ बजे अध्यागमन पुगेका यात्रुलाई ३ घण्टा रोकी मानसिक तनाव दिएको, कतिपय यात्रुलाई जहाज उडेपछि प्रस्थान अनुमति दिइएको प्रहरी स्रोतले जनाएको छ । कमानसिंह पालुङटार नगरपालिकामा भएको सरुवा उल्टाएर गृह हुँदै त्रिवि अध्यागमनमा पुगेका हुन् ।
उता, भिजिट भिसा प्रकरणमा कार्यालय प्रमुखमाथि नै अख्तियार लागेपछि त्रिवि अध्यागमनमा दरबन्दीअनुसार कर्मचारी खटाउन सकिएको छैन । त्यहाँ ६ उपसचिव, १११ अधिकृत र नासु तहका गरी १२१ दरबन्दी रहेकोमा १ उपसचिव र १० अधिकृत रिक्त छ । अध्यागमनलाई पूर्ण क्षमतामा चलाउनका लागि १ उपसचिवसहित १४ जना अधिकृतस्तरको कर्मचारीको दरबन्दी स्वीकृतिको लागि गृहले ओएण्डएम सर्भे तयार पारेर क्याविनेटमा पठाउने अन्तिम तयारी रहेको स्रोतले जनाएको छ ।
(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू