सहकारीमा ठगिनेलाई हल्का सुविधा

सहकारीमा ठगिनेलाई हल्का सुविधा

प्रधानमन्त्री सुशीला कार्की सहकारी ठगहरूविरुद्ध निर्मम हुने भएकी छन् । सर्वसाधारणको अर्बाैं बचत खानेहरूमाथि एकातिर मुद्दा छ, अर्कोतिर ऋण खाएर खुल्लमखुला हिँड्नेको दादागिरी छ । यसैले ठूला ऋणीलाई नछोड्ने अडान लिइरहेकी उनले एक लाखसम्म रकम फसेका ३२ हजार पीडितको रकम फिर्ता गराउने गरी छलफल अगाडि बढाएको बुझिएको छ ।

‘सहकारी ठगहरूलाई तह लगाउने उपाय खोज्न केही दिनअगाडि छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की, कानुन मन्त्री अनिल सिन्हा र अख्तियार आयुक्त  किशोर सिलवाललाई बालुवाटारमा डाकेर छलफल गराइएको थियो,’ स्रोत भन्छ, ‘बचत रकम अपचलन भयो भनेर सञ्चालकहरूमाथि आरोप लागेको छ तर ऋण खाएर बसेकाहरूको कसैले नामै उच्चारण गर्दैन । ऋणको रूपमा पैसा लिने तर सुको नतिर्नेमाथि पनि निर्मम भएर लाग्नुपर्छ भन्ने प्रधानमन्त्रीलाई आइलागेको छ ।’ कतिपय ऋणीले नै सञ्चालकहरूलाई जेलमा हाल्ने अनि आफू ढुक्कले बाहिर हिँड्ने गरेपछि प्रधानमन्त्रीले यस्तो अग्रसरता लिएको बुझिएको छ । 

‘पीडितको रकम तिर्ने विषयमा राज्यको दायित्व के हुन्छ त ? शुरुको चरणमा राज्यले एक लाखसम्म तिरिदिने कि भनेर पनि कुरा उठेको छ । त्यसो गर्नलाई अर्बबराबरको दायित्व सिर्जना हुँदोरहेछ’ स्रोतले भन्यो, ‘त्यो पछि सहकारीहरूको घर घराना र जायजेथाबाट असुल्ने गरी तत्काल पीडितलाई दियो भने ३५ हजारको बचत फिर्ता हुने अवस्था छ ।’ गौरीबहादुरले पहिले समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका थिए । एक लाखभन्दा मुनिको रकम बाँड्यो भने कसैको १० हजार, कसैको २० हजार, कसैको ५० त कसैको ८० हजारसम्म कभर हुन सक्छ, स्रोतले भन्यो, ‘एक लाखसम्म तिर्दा ३५ हजारले राहत पाउँछन् ।’

भुइँ तहका मान्छेको थोरै मात्र भए पनि रकम फिर्ता गराउन सक्दा धर्म हुने प्रधानमन्त्रीको भनाइ छ । ‘पाँच लाख, १० लाख जम्मा गर्ने पैसा हुनेहरू हुन् । मकै पोल्नेचाहिँ एक लाखभित्रका पर्छन् । तिनीहरूको पैसा राज्यले भए पनि फिर्ता गर्नुपर्छ भन्नेमा छौँ । बरु पछि त्यो संस्थाबाट असुल्दा भइहाल्छ’ स्रोतले भन्यो, ‘तर एक खाले बिचौलियाचाहिँ कहाँ हुन्छ ? एक लाख रुपैयाँमा भुल्याैँ भने भोलि अरू फर्कन्न भनेर उचाल्दै छन् । सहकारी पीडितलाई मिल्न नदिने उनीहरूको छुट्टै खेल छ ।’

त्यस्ता बिचौलियाको नेतृत्व पछिल्लो समय कुशलभ केसीले गरिरहेको बताइन्छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष हुन् उनी । सहकारीपीडितको कुरा उठाउँदा कुटाइ खाएँ भन्दै रुवाबासी गर्छन् । सुरक्षा स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले तिम्रो कति डुबेको छ भनेर सोध्नुभयो । उनले ‘मेरो त एक पैसा पनि परेको छैन हजुर, यिनीहरूकै पीडा पनि मेरै पीडा हुन् भनेर लागेको हुँ’ पो भन्दारहेछन् । सहकारीको समस्या सल्टिन नदिन उनीहरूलाई आन्दोलित गराइराख्ने, त्यताबाट अलिअलि पैसा झार्ने, जीविका चलाउने काम बिचौलियाले गरिरहेको स्रोत बताउँछ । 

अलि अलि पैसा खाएर तिर्ने तर धेरै रकमचाहिँ नतिर्ने ऋणीहरू समस्याग्रस्त सहकारीमा प्रशस्तै रहेको स्रोत बताउँछ । ‘केही काम गर्न खोज्यो, त्यसलाई बिथोल्ने अनि अर्कालाई झन् उक्साउनेहरू पनि हुँदा रहेछन् । पीडितको रकम फिर्ता गराउने प्रक्रिया अगाडि बढेपछि यस्ता प्रवृत्तिका मान्छे आफैं साइड लाग्ने पक्का छ,’ स्रोत भन्छ । ‘शुरुमा कुशलभले सर्वसाधारण ठगिएको कहानी भन्दा शुरुमा त प्रधानमन्त्री नै रुनुभयो । बिचरा ती मकै पोल्ने, दैनिकी मजदुरी गर्नेको पैसा डुब्यो भन्न थाल्नुभयो’ स्रोतले भन्यो, ‘कुशलभलाई नानी, तपाईंको चाहिँ कति डुब्यो भन्नु त ? भनेको, ‘मेरो त एक पैसा नि फसेको छैन हजुर पो भन्छन् । यसैबाट उनीहरू हैन, पीडित अरु नै हुन् भन्ने निश्कर्ष निकालिएको हो ।’

(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू