संस्कृति, पहाड र प्रविधि : हिमालयन रिम चलचित्र प्रदर्शनी

त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागको सभा हल आज बिहान फरक दृश्यले भरिएको थियो। पर्दामा चलिरहेका एनिमेटेड दृश्य, एआई प्रविधिबाट सिर्जित पहाड र पात्रहरू, र उत्सुकतापूर्वक हेर्दै बसेका पाहुना, सहभागी र विद्यार्थीहरू—सबैले ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी–२०२५’ को प्रारम्भलाई विशेष बनाइरहेका थिए।

हिमालयन रिम फिल्म एक्जिभिसनद्वारा आयोजना गरिएको प्रदर्शनी नेपालमा पहिलो पटक क्षेत्रीय सांस्कृतिक पहलका रूपमा आयोजना गरिएको हो। चिनियाँ एनिमेसन र डिजिटल सिर्जनालाई सीमापार सांस्कृतिक संवादको माध्यम बनाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ भन्ने नारालाई व्यवहारमा उतारिएको देखिन्थ्यो।

त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता विभागमा आयोजित उद्घाटन सत्र आधुनिक प्रविधिमैत्री प्रस्तुतीकरणबाट सुरु भयो। एआई प्रविधिबाट तयार गरिएको प्रवद्र्धनात्मक छोटो चलचित्रपछि पूर्ण रूपमा एआईद्वारा निर्माण गरिएको एनिमेटेड सर्ट फिल्म ‘द स्पिरिट अफ द माउन्टेन्स’ प्रदर्शन गरियो। पहाड, प्रकृति र मानवीय संवेदनालाई जोड्ने उक्त फिल्मले दर्शकलाई मौन बनायो।

चिनियाँ अमूर्त सांस्कृतिक सम्पदाअन्तर्गत पर्ने ‘क्वानसिङ तुओ’—पूर्ण आकारको रबिङ कला—बाट प्रेरित यो फिल्मले परम्परागत सांस्कृतिक रूपलाई एआई प्रविधिसँग जोड्दै नयाँ ढंगले पुनः व्याख्या गरेको छ। प्रविधि र परम्परा एक–अर्काका विरोधी होइनन् भन्ने सन्देश फिल्मले स्पष्ट रूपमा दिएको अनुभव सहभागीहरूले गरेका छन् ।

फिल्मका निर्देशक पाङ जियाले भिडियो लिंकमार्फत् कार्यक्रममा सहभागी हुँदै एआई आधारित दृश्य निर्माणको प्रक्रिया साझा गरे। निर्माता जुनयान ह्वाङ भने विद्यार्थीहरूसँग प्रत्यक्ष संवादमा उत्रिए। प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूको जिज्ञासा र उत्साह स्पष्ट देखिन्थ्यो। ‘यसरी प्रत्यक्ष संवाद गर्न पाउँदा एआई र एनिमेसन अझ नजिकबाट बुझ्न पाइयो,’ एक सहभागी विद्यार्थीले प्रतिक्रिया दिए।

कार्यक्रममा अर्को मुख्य आकर्षण थियो—एनिमेटेड फिल्म ‘द लिजेन्ड अफ हेइ–२’। ‘गतिशील स्टोरीबोर्ड प्रि–भिजुअलाइजेसन’ प्रविधि प्रयोग गरिएको यस फिल्मले मानिस र पर्वत, जल, वन, ढुंगा तथा जनावरलाई प्रतीकात्मक पात्रका रूपमा प्रस्तुत गर्दै सहअस्तित्वको कथा सुनाउँछ। प्रकृति र मानवबीचको सामञ्जस्यलाई केन्द्रमा राखिएको यसको पर्यावरणीय सन्देशले विद्यार्थी दर्शकमाझ गहिरो प्रभाव छोड्यो।

फिल्म प्रदर्शनपछि आयोजित ‘ब्लाइन्ड बक्स’ अन्तरक्रियात्मक गतिविधिले माहोललाई अझ जीवन्त बनायो। प्रश्नोत्तरमा सहभागी बन्दै विद्यार्थीहरूले विभिन्न सामग्री जिते, जसले कार्यक्रमलाई केवल हेर्ने होइन, अनुभूति गर्ने अवसर बनायो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कुन्दन अर्याल, अभिनेता प्रदीप खड्का, अभिनेता बुद्धि तामाङलगायतको उपस्थिति थियो। उनीहरूले यस्ता सांस्कृतिक तथा प्रविधिमैत्री कार्यक्रमले विद्यार्थीको दृष्टिकोण फराकिलो बनाउने बताएका थिए।

सात दिनसम्म सञ्चालन हुने यो प्रदर्शनी त्रिभुवन विश्वविद्यालयमा तीन दिन, काठमाडौं विश्वविद्यालयमा तीन दिन र लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक दिन आयोजना हुँदैछ। हिमाल, प्रविधि र संस्कृतिको संगम बोकेको यो प्रदर्शनीले नेपाली विद्यार्थीहरूलाई सीमापार सोच्न र सिर्जनशील बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

टिप्पणीहरू