तासको खालमा उठेको थियो बालिका हत्याको चुरो

तासको खालमा उठेको थियो बालिका हत्याको चुरो

मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेका व्यक्ति पक्राउ परेपछि पीडित परिवारजन शव बुझ्न तयार भएका छन्। ‘ब्लाइन्ड क्राइम’का रूपमा सुरु गरिएको अनुसन्धानपछि करिब दुई महिनामा स्थानीय ५९ वर्षीय पदमबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेर हिजो सार्वजनिक गरिएको थियो। 

अधिकारी नै घटनामा संलग्न भएको पुष्टि भएपछि गौतम परिवार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको शव बुझेर अन्त्येष्टि गर्ने तयारीमा छ। अंशुका ठूलोबुबा दामोदर गौतमले लामो र कष्टसाध्य अनुसन्धानपछि अपराधी पत्ता लागेको भन्दै अदालतले कडा सजाय दिनुपर्ने माग गरेका छन् ।

लेटाङ–२, बुधबारेकी अंशु असोज २१ गते साथीसँग खेल्न घरबाट निस्किएकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको शव कात्तिक ७ गते जंगलमा घाँस–दाउरा लिन गएका स्थानीयले फेला पारेका थिए। दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान परिवारले लिएको थियो भने घटनापछि स्तब्ध स्थानीयले पनि छिटो अनुसन्धान पूरा गर्न प्रहरीमाथि दबाब दिँदै आएका थिए।

अधिकारीले नातिनी उमेरकी अंशुलाई बलात्कार र हत्या गरेको खुलेपछि गाउँमा तीव्र आक्रोश फैलिएको छ। गाउँलेहरूले हिजो उनको घरमा तोडफोड तथा आगजनी प्रयास गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। अधिकारीकी श्रीमती र छोरालाई गाउँ छोड्न दबाब परिसकेको छ। स्थानीयले आरोपी परिवार गाउँमै बसिरहे थप अप्रिय घटना हुनसक्ने भन्दै उनीहरूलाई अन्यत्र बस्न दवाब दिएका हुन् ।

अंशुको शव टाउको छुट्टिएको अवस्थामा भेटिएपछि प्रहरीले डिएनए परीक्षणमार्फत पहिचान गरेको थियो। अपराध कसले र किन गर्यो भन्ने कुनै सुराक नभएपछि जिल्ला प्रहरी, प्रदेश विशेष अनुसन्धान ब्युरो र सिआइबीसहित १६ जनाको टोली बनाएर ‘जस्टिस फर अंशु गौतम (जग)’ नामक विशेष अपरेसन सञ्चालन गरिएको थियो। सो क्रममा करिब तीन सय जनासँग सोधपुछ, ५४ जनाको लिखित बयान र एक दर्जन भन्दा बढीको पोलिग्राफ परीक्षण गरिएको जानकारी प्रहरीले दिएको छ । गाउँ–समाजमा बस्ने सबै, शिक्षक, साथीभाइ, पहिले आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको थियो।

घटनापछि पनि नौ दिनसम्म पदमबहादुर गाउँमै थिए। उनी आफन्तलाई सान्त्वना दिन पुगेका थिए र प्रहरीसँग अंशुको खोजतलासमा समेत सहभागी बनेको देखिन्छ । यसैले सुरुमा उनीमाथि कुनै शंका गरिएन। तर केही स्थानीयले गोप्य रूपमा प्रहरीलाई जानकारी दिँदै अंशु हराएको दिनपछि अधिकारी साँझ तास खेल्न नआएको र पहिले पनि यौन दुव्र्यवहारका घटनामा संलग्न रहेको बताएको थियो। शव भेटिएलगत्तै उनी आसाम पुगेको तथ्य खुल्दै गएपछि प्रहरीले घरपरिवार र स्थानीय जनप्रतिनिधिमार्फत् उनलाई फोन गरेर मंसिर १८ गते नेपाल ल्याइयो र नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उनले अपराध स्वीकारेका हुन् । 

बयानअनुसार उनले असोज २१ गते साथीमार्फत अंशुलाई बोलाएर ‘घाँस काट्न सहयोग गर्छु’ भन्दै साइकलमा राखेर जंगल लगे। त्यहाँ यौन दुव्र्यवहारपछि हँसियाले घाँटी रेटेर हत्या गरेका थिए। प्रहरी र आफन्तहरूले खोजतलास तीव्र बनाएपछि शव बोरामा राखेर चारकोशे साझेदारी वनमा फ्याँकेको उनले स्वीकारेका छन्। ‘मैले ठूलो पाप गरेको छु, कानूनले कडा सजाय देओस्,’ उनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।

अपराधशास्त्रीहरूका अनुसार प्रत्यक्षदर्शी नहुने, घटनास्थलमा कुनै सुराक फेला नपर्ने, अपराधको कारण वा अभियुक्त पहिचान गर्न कठिन हुने घटनालाई ‘ब्लाइन्ड क्राइम’ भनिन्छ। यस्ता घटनाको अनुसन्धान अत्यन्त जटिल भए पनि वैज्ञानिक प्रमाण, निरन्तर फलोअप र सूक्ष्म विश्लेषणका आधारमा अपराधी पत्ता लाग्न सक्छ। अंशुको घटनामा पनि दुई महिनासम्मको कठिन अनुसन्धानपछि प्रहरीलाई सफलता मिलेको हो।

 

टिप्पणीहरू