निलम्बित डिजीलाई जेलको ढोकैबाट अस्पताल
फाइल फोटो
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । विशेष अदालतमा आज भएको थुनछेक बहसपछि उनलाई सदरखोर डिल्लीबजार चलानको आदेश भएको छ ।
भक्तपुरको नलिञ्चोकस्थित हेलिपोर्ट निर्माणमा १३ करोडभन्दा बढी अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले गत साता उनलाई हिरासतमा लिएको थियो । आज विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल,डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो ।
उनले आज थुनछेक बहसको क्रममा हिरासतमा बिरामी परेकाले अस्पताल लैजान आग्रह गरेका थिए । कारागारले अब स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाने भएको छ । सम्भवतः उनले अस्पताल बसेर उपचार गर्न पाउनुपर्ने माग दोहोर्याउने सम्भावना छ ।
आजै अधिकारीसहित ५५ जना र एउटा कम्पनीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा साढे ८अर्ब बढी भ्रष्टाचार भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । पाँच जना पूर्वमन्त्री र झण्डै एक दर्जन तत्कालीन सचिव तथा सहसचिवलगायत ५५ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
टिप्पणीहरू