जाडो भगाउन तीन सयभन्दा बढी प्रकारका डम्प्लिङ पकाईँदै

डिसेम्बर २१ को दिन पृथ्वीको उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । आजको दिन चीनका विभिन्न भागमा क्षेत्रअनुसार फरक–फरक परम्परागत परिकारसहित परिवारसँग पुनर्मिलन गरेर मनाइन्छ । 

ती सबै परम्परामा घरभित्र न्यानोपन र एकताको भावना बोकेको मान्यता राखिएको हुन्छ । चीनको परम्परागत कृषि समाजमा आजदेखि अत्यधिक जाडो सुरु हुने मान्यता राखिन्थ्यो । त्यसैले यो समयलाई किसानहरुले खेतीपातीबाट विश्राम लिने समयको रुपमा लिइन्छ । 

उत्तरी चीनमा आजको दिन डम्प्लिङ (चियाओजी) खाने चलन छ भने दक्षिणमा ताङयुआन (चामलको पिठोको गोलो मिठाइ) खाइन्छ । उत्तरपश्चिम चीनको सान्सी प्रान्तको सिआन सहरमा यो अवसरमा तीन सयभन्दा बढी प्रकारका डम्प्लिङ समावेश गरिएको भव्य डम्प्लिङ भोज आयोजना गरिन्छ । डम्प्लिङ प्रायः पानीमा पकाइन्छ भने मःमः पानीको बाफमा । 

उत्तरपूर्वी चीनको होइल्याच्याङ प्रान्तको सुनउ काउन्टीको यानचियाङ दाउर र मान्चु जातीय टाउनसिपमा परिवारहरू भेला भएर चिप्लो चामलमा सिमी भरिएका केक बनाइन्छ । बाफमा पकाएपछि ती ‘बन’ हरू बाहिर राखेर प्राकृतिक रूपमा सुकाइन्छ । यस्ता केक उत्तरी चीनको माइनस २० डिग्रीभन्दा कम तापक्रममा लामो हिउँदभर राखेर खान सकिन्छ ।

उता छिङहाई प्रान्तमा यो समयमा भेडाको मासुको तातो सुप खानैपर्ने चलन छ । प्रान्तीय राजधानी सीनिङमा यसरी पकाइएको सुपको बासना जाडोले चिसिएको सहरभरि फैलिने भएकाले कुनै विशेष मसला आवश्यक नपर्ने मान्यता छ ।

‘यो समयमा भेडाको मासु सबैभन्दा बोसोयुक्त र स्वादिलो हुन्छ । यो मौसमी, मौलिक र छिङहाईका स्थानीयबीच अत्यन्त लोकप्रिय छ,’ भेडाको मासु विशेष रेस्टुरेन्टका मालिक मा झोङयिङले भने ।

दक्षिण चीनको फुचिएन प्रान्तको फुआन सहरमा यो समयमा उखु काटिन्छ । स्थानीयहरूले ताजा उखुको रसबाट परम्परागत तरिकाले खैरो चिनीको पातलो चकलेट बनाउँछन् । उखुको रसलाई झन्डै तीन घण्टा उमालेपछि, त्यो झोल (खुदो) लाई बाँसमा खन्याएर काठका डन्डीले पिट्दै परम्परागत चकलेट बनाइन्छ । 

स्रोत : सिसिटिभी प्लस । 

टिप्पणीहरू