लगानी प्रवर्धनमा चीनसँग निकट सहकार्य गर्न नेपाल तयार
नेपाल सरकार,नेपाली उद्योगपति तथा व्यवसायिक प्रतिनिधिहरूले चिनियाँ उद्यमीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्दै उनीहरूले मुलुकमा बढ्दो सम्भावना रहेको उदाहरण प्रस्तुत गरेका छन् ।
राजधानीमा सम्पन्न नेपाल–चीन लगानी गोष्ठीका वक्ताहरूले प्रविधि,नवप्रवर्तन र लगानीका क्षेत्रमा नेपालमा प्रशस्त अवसर रहेको बताए । आजको कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले विश्व परिवेशअनुसार नेपालले आर्थिक सुधारका प्रक्रिया अघि बढाइरहेको र स्वदेशी तथा विदेशी लगानीका लागि अनुकूल वातावरण तयार रहेको उल्लेख गर्नुभयो । विभिन्न क्षेत्रमा लगानी प्रवर्धनका लागि चीनसँग नजिकबाट सहकार्य गर्न नेपाल इच्छुक रहेको उहाँको भनाइ छ ।
नेपालका लागि जनगणतन्त्र चीनका राजदूत छन् सोङले चिनियाँ लगानीकर्ताहरूले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्ने विश्वास व्यक्त गर्नुभयो । दुई मुलुकबीचको दीर्घकालीन मित्रवत् सम्बन्धको चर्चा गर्दै उहाँले थप समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो, ‘औद्योगिक विकास, ऊर्जा स्रोत,प्रविधि, पूर्वाधार निर्माण सामग्री तथा औषधि उत्पादन उद्योगलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न चीन इच्छुक छ ।’ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले लगानी सुरक्षित र सुनिश्चित प्रतिफलका लागि नेपालले नीतिगत संरचना तयार गरिसकेको बताए । नेपालका प्राकृतिक स्रोतसाधन,भौगोलिक अवस्थिति र ऊर्जाशील युवा जनशक्ति लगानीका लागि अनुकूल रहेको उनको भनाइ छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली,,नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक काउन्सिलर चु फङलगायतले मन्तव्य राख्ने क्रममा लगानीका लागि नेपाल उपयुक्त गन्तव्य रहेको उल्लेख गरे ।
नेपालस्थित चिनियाँ उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष फान सियाओबोको अध्यक्षतामा भएको कार्यक्रममा लगानी बोर्डका प्रतिनिधि निरब ज्ञवालीको तर्फबाट नेपालमा उपलब्ध लगानीका अवसरबारे विस्तृत प्रस्तुति प्रस्तुत गरिएको थियो ।
टिप्पणीहरू