सुधन र कुलमान रिमासँगै

सुधन र कुलमान रिमासँगै

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि एकाएक उदाएका सुधन गुरुङकोे वास्तविकता एनजिओ सञ्चालक हो । ‘हामी नेपाल’ नामक एनजिओका संस्थापक हुन् । जसको कार्यालय काठमाडौंको रानीबारीमा रहेको छ । एनजिओलाई नायिका स्वस्तिमा खड्का, प्रियंका कार्की, मोडल सिड्नी गुरुङ, ड्रमर दिपेश गुरुङ, कन्टेन्ट डेभलपर इलिना गुरुङ, गायिका सुजिना श्रेष्ठ, मोडल ज्योत्सिना मगरलगायतले सपोर्ट गरेका छन् । त्यस्तै, एनजिओलाई सपोर्टिङ्ग गर्ने ब्राण्ड दुई दर्जनभन्दा बढी छ । नेपालको नम्बर वानदेखि मल्टिनेशनल कम्पनीले एनजिओलाई सपोर्ट गरेको देखिन्छ । 

डलर अर्बपति विनोद चौधरीको चाँदबाग स्कूलले पनि सुधनको एनजिओलाई सपोर्ट गरेको पाइएको छ । त्यसैगरी, पञ्चकन्या ग्रुप, मलबेरी होटल, एभरेष्ट आउटफिट, हाइलाइफ, एससिटी नेपाल, शंकर ग्रुप, कोकाकोला, भाइबर, अलजजिरा, गोर्खा वेल्फेयर ट्रष्ट, होटल एम्बेसडर, होटल याक एण्ड यति, डल्ले, च्याम्बर आयरल्याण्ड, टाइम फर्मास्युटिकल्स, आरबिके प्रोडक्सनलगायतका ब्राण्डले एनजिओलाई सपोर्ट गरिरहेको छ ।

सो एनजिओको सपोर्टरमध्ये एक आरबिके प्रोडक्सन मिडिया र ब्रोडकास्टिङ कम्पनी हो जसले विभिन्न कार्यक्रम उत्पादन र प्रशारण गर्छ । कम्पनी सञ्चालक अभिनेत्री रिमा विश्वकर्मा हुन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेकी उनले विभिन्न कार्यक्रम होस्ट पनि गर्छिन् । बौद्धिक गनिएकी रिमाको प्रोडक्सनले यसअघि ‘हामी नेपाल’ लाई ५० पिस पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट (पिपिए) सहयोग गरेको थियो । त्यसबापत ‘हामी नेपाल’ ले प्रोडक्सनलाई सम्मान गर्‍यो ।

सुधनको एनजिओमा सपोर्टर रहेकी रिमा हालै ऊर्जा क्षेत्रका हस्तीका रुपमा परिचित कुलमान घिसिङको उज्यालो पार्टीमा प्रवेश गरेकी छन् । प्रश्न उठ्छ–सुधनको एनजिओमा सपोर्टर रहिरहँदा उनी किन कुलमानको पार्टीमा आइन् ? रिमा यसअघि कुनै पार्टीमा आबद्ध थिइनन् । चलचित्र र टिभी होस्ट कार्यक्रममा व्यस्त उनी एकाएक सक्रिय राजनीतिमा आउनु आश्चर्यलाग्दो विषय हो । यता, उज्यालो पार्टीमा उनको प्रवेशले कुलमान र सुधनको सम्बन्ध पुरानै रहेको धेरैको अनुमान छ । स्रोत भन्छ, ‘एकातिर सुधनको एनजिओमा सपोर्टिङ्ग ब्राण्ड, अर्कोतिर कुलमानको पार्टी नेत्री ?’
 

टिप्पणीहरू