कांग्रेस –एमाले यसरी पर्न सक्छन् कर्नरमा
के एमाले महासचिव शंकर पोखरेलले चाहेजस्तै मुलुक दुई दलीय प्रणालीमा जाँदै छ ? जेनजी आन्दोलनपछि उथलपुथल भएको राष्ट्रिय राजनीतिमा कित्ताबन्दी चलिरहँदा आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन हुने सम्भावनाबारे चर्चा हुन थालेको छ । दुई ठूला पार्टीबीच चुनावी गठबन्धन भए पुरानो र नयाँ पार्टीको रूपमा राजनीति दुई खेमामा ध्रुवीकृत हुने विश्लेषण भइरहेको छ ।
कांग्रेसले पुँजीवादी र एमालेले समाजवादी धारको नेतृत्व गर्ने भएकाले जनमत ती दुई दलको वरिपरि ध्रुवीकृत हुँदै अरुको अस्तित्व नामेट हुने शंकरको दावी रहँदै आएको थियो । तर, भदौ २३ र २४ को घटनाले आफैँ रक्षात्मक अवस्थामा पुगेका यी दुई दलबीच सहकार्यको ढोका खुला गर्नेबारे नेतृत्व तहमा छलफल शुरु भएको बताइएको छ । एकातिर रवि लामिछानेको रास्वपा, कुलमान घिसिङको उज्यालो नेपाल, सुधन गुरुङ र बालेन साहको समूहबीच गठबन्धनको तयारी, अर्कोतिर साना वामपन्थी पार्टीहरू प्रचण्डमा केन्द्रीकरण भएको अवस्था– यसबीच शुक्रबार शेरबहादुर देउवा र केपी ओलीले लामो समयपछि भेट गरे । पारिवारिक मिलनको झल्को दिनेगरी आरजु राणा र राधिका शाक्यलाई सँगै राखेर दुई नेता भेटिएलगत्तै कांग्रेसको तर्फबाट संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुनु के संयोगमात्र होला त ?
स्रोतका अनुसार ओली र देउवाबीच माघ १६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने मोटामोटी सहमति भैसकेको छ । पार्टीका प्रतिवद्ध कार्यकर्ता मतदाता हुने भएकाले दुई पार्टी मिल्दा सबै सिट जित्ने प्रष्ट गणित भएकाले समस्या भएन । तर,आम चुनावमा भने कांग्रेस र एमालेलाई सजिलो देखिँदैन । यसै पनि रक्षात्मक स्थितिमा रहेका दुई पार्टीको वर्चस्व भत्काउन रास्वपा, उज्यालो नेपाल, बालेन र सुधन समूहसहित जेनजीहरू गठबन्धनको प्रयासमा छन् । अलग–अलग पार्टी दर्ता गरेको हुँदा यौटै चह्नअन्तर्गत अब लड्न सम्भव छैन । त्यसकारण ०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीसहित पाँच दलीय गठबन्धनविरुद्ध एमाले, राप्रपा र जसपाले सिट भागबण्डा गरेजस्तै सुमना श्रेष्ठको अग्रसरतामा गठबन्धनको प्रयत्न भैरहेको र त्यही क्रममा गत साता रविलाई भेट्न सुधन जेल पुगेको भनिएको छ ।
‘कुलमान, सुधन, बालेन र सुमनाबीच पछिल्लो एक महिनादेखि अन्तरंग छलफल चलिरहेको थियो । कांग्रेस र एमालेबीच गठबन्धन हुने अवस्थामा प्रचण्डलाई समेत मिलाउनेगरी कुराकानी भैरहेको छ’, स्रोतले सुनायो, ‘सुधन गुरुङ रविलाई भेट्न गएको यसैको एउटा कडी हो ।’ यता, अलि अगाडिसम्म शत्रुतापूर्ण व्यवहार गरिरहेका दुर्गा प्रसाईं र ओलीको भाषा मिल्न थालेको छ । आफू प्रधानमन्त्री भएका बेला दुर्गालाई समात्न ठाडो निर्देशन दिएका ओली अहिले उनको पक्राउविरुद्ध बोलिरहेका छन् । सरकारप्रति पनि उनीहरूको उस्तै धारणा देखिन्छ ।
तर, बालेन र सुधनहरूको समूहले भने अहिलेको शक्ति सन्तुलनमा दुर्गालाई महत्व दिएका छैनन् । दुर्गा आफैँमा कुनै ‘फ्याक्टर’ नभएकाले ओलीले उनलाई आफू अनुकूल प्रयोग गर्ने मात्र हो भन्ने उनीहरूको बुझाइ छ । हुन पनि कुनै समय यी दुई हजुरबा–नातीको सम्बन्धमा थिए । पार्टीको सदस्यतासमेत नलिएका दुर्गालाई सिधै केन्द्रीय सदस्यमा मनोनित गरेका ओली पछि स्वार्थ नमिल्दा उनैको लखेटाईमा परे । आफूलाई चाहिएको बेला च्याप्ने अनि फ्याँक्ने गर्दै आएका उनले अहिले सफ्ट कर्नर राख्नुलाई झापाको राजनीतिसँग जोडेर विश्लेषण गरिएको छ ।
ओलीको गृहजिल्ला झापाका दुर्गा प्रसाईंसँग बलियो राजनीतिक आधार नभए पनि उनी हाट्टहुट्ट गरेर मान्छे जम्मा पार्न सक्ने सामथ्र्य राख्छन् । ऋण मिनाहा गरिदिने लोभमा पारेर सहकारी पीडितलाई काठमाडौँमा उतारी शक्ति प्रदर्शन गरेका उनले राजा फर्काउने नाममा पनि बेला–बेला बितण्डा मच्याउँदै आएका छन् । जेनजी आन्दोलनबाट पछारिएको एमाले तंग्रिन नपाउँदै चुनावमा जाँदा झापामा दुर्गा भारी पर्नसक्ने हिसाब एमाले नेताहरूले गरेका छन् । अवस्था कस्तोसम्म छ भने यदि चुनावसम्मै स्थान हद कायम रहिरह्यो भने ओलीले वारेसमार्फत उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । कमाण्डर नै आफ्नो निर्वाचन क्षेत्रमा भोट माग्न जान नसक्ने अवस्थामा चुनाव कति सहज होला ?
जेनजी आन्दोलन मुख्यतः पुराना पार्टीविरुद्धको विष्फोट भए पनि तत्कालिन समय सरकारको नेतृत्वकर्ताका हिसाबले आक्रोशको मुख्य निशानामा ओली नै छन् । उनका अभिव्यक्ति र गतिविधिले एमालेको लोकप्रियता खस्किएको छ । यो स्थितिमा चुनाव हुँदा ओलीमात्र होइन सिंगो पार्टीले अनपेक्षित परिणाम ल्याउने खतरा देख्नेहरू एमालेमै छन् । उदाहरणका लागि कुनै समय एमालेको लालकिल्ला मानिएको काठमाडौँ उपत्यकामा निरन्तर बर्चश्व खस्किँदो अवस्थामा छ । ०७९ को चुनावमा काठमाडौँको १० मध्ये जम्मा १ सिट जितेको ऊ शून्य हुनबाट बालबाल जोगियो । तत्कालीन पाँचदलीय गठबन्धनले कमजोर उम्मेदवार उठाएका कारण काठमाडौँ–९ मा कृष्णगोपाल श्रेष्ठले जितेका थिए ।
माधव नेपाल, झलनाथ खनाल र भीम रावलहरूले पार्टी छोडेपछि सुदूरपश्चिम र कर्णालीमा पनि कमजोर बनेको एमाले मधेशमा भने बौरिएको थियो । तर, अहिले मधेशमा युवाहरूको एउटा समूह सुधन गुरुङको हातमा पुगेको छ । रूपन्देहीदेखि झापासम्मका युवाहरूलाई उनले संगठित गरिरहेका छन् । त्यसले गर्दा तराई–मधेशमा पनि विगतको वर्चश्व जोगाउन एमालेलाई कठिन देखिन्छ । त्यही भएर एमाले र कांग्रेस मिल्न खोजेको र राष्ट्रिय सभाको चुनावबाट यसको अभ्यास शुरु हुने बताइँदै छ । माघ ११ गतेदेखि राष्ट्रिय सभामा रिक्त हुने १९ सिटमा १६ गते निर्वाचन हुँदैछ । राष्ट्रपतिद्वारा मनोनित कोटाको एकबाहेक बाँकी १८ मध्ये कांग्रेस र एमालेले नौ–नौ सिट बाँडेर लिने सहमति भएको बताइन्छ ।
यता, कांग्रेस र एमालेबीच गठबन्धन भए परिणाम झन प्रत्युत्पादक हुने विश्लेषण गर्नेहरू पनि छन् । सरकार बनाउँदा दुई ठूला पार्टी मिल्नु जस्तो दुर्भाग्य बन्यो, चुनावअघिको गठबन्धन थप हानिकारक हुने एमालेकै एकथरी नेता स्वीकार गर्छन् । प्रमुख दुई दलसँगै सरकारमा नजाने संसदीय राजनीतिको विश्वव्यापी मान्यताविपरीत कांग्रेस–एमाले मिल्दा विकल्प साँघुरियो र आज यो अवस्था आयो । त्यसैले कांग्रेससँग तालमेल गर्न नहुने मत एमालेमा जबर्जस्त देखिन्छ । गठबन्धन भए पनि शीर्ष नेताका निर्वाचन क्षेत्रमा हुनसक्ने अनुमान गर्दै एक नेता भन्छन्, ‘अब सभापति र प्रधानमन्त्री हुन्न भनिसकेकाले सायद देउवाजी उठ्नुहुन्न । भयो भने ओलीको ठाउँमा चाहिँ होला ।’
झापा–५ बाट चुनाव जित्दै आएका ओलीले पछिल्ला दुईवटा निर्वाचनमा एकल प्रतिष्पर्धा गरेका छैनन् । ०७४ मा माओवादीको समेत भोट पाएका उनलाई राप्रपाले पनि सघाएको थियो । त्यो सिलसिला ०७९ मा पनि निरन्तर रह्यो । त्यसको बदलामा क्षेत्र नम्बर ३ मा एमाले मतदाताले हलोमा भोट खन्याएर राजेन्द्र लिङ्गदेनलाई दुबैचोटि संसदमा पठाए । तर, यो सहकार्य चुनावको परिणाम सार्वजनिक भएसँगै टुट्ने गरेको छ भने अहिले राप्रपा ओलीको खिलाफमा छ । राजनीतिक परिस्थिति यही रूपमा अघि बढे आगामी निर्वाचनमा यी दुई दलको तालमेल सम्भव देखिँदैन ।
त्यसो त, कांग्रेस एमालेविरुद्ध हुने भनिएको रवि र कुलमानहरूको सहकार्य पनि चुनौतिरहीत छैन । एकले अर्काको नेतृत्व स्वीकार्न नसकिरहेका यी पार्टीमा आपसी अविश्वास देखिन्छ । यसअघि कुलमानलाई पार्टीमा प्रवेश गराएर प्रधानमन्त्रीको उम्मेदवार बनाउनसमेत राजी भएको रास्वपाले अहिले अर्कै निष्कर्ष निकालिसकेको छ । ‘रास्वपा ०७९ मै २१ सिट जितेको र ११ लाख भोट ल्याइसकेको पार्टी हो । उनीहरू परीक्षण भएकै छैनन्’, कुलमानसँगको एकताबारे पार्टीको निष्कर्ष सुनाउँदै एक नेता भन्छन्, ‘बाहिरबाट प्रवेश गर्ने मान्छेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गल्ति गर्न हुँदैन भन्नेमा पार्टी पुगेको छ ।’
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू