जिब्रो परीक्षणबाटै धेरै रोगको उपचार सम्भव : डा. यीन

जिब्रो परीक्षणबाटै धेरै रोगको उपचार सम्भव : डा. यीन

विश्वमा रहेका विभिन्न परम्परागत उपचार पद्धतिमध्ये चिनियाँ परम्परागत चिकित्सा पद्धति (टीसीएम) को स्थान निकै उच्च मानिन्छ। एक अर्ब ४० करोडभन्दा बढी चिनियाँ नागरिकले पछिल्लो समय आधुनिक उपचारसँगै यस पद्धतिमा गहिरो विश्वास राख्दै आएका छन्। रोगको जडमै पुगेर उपचार गर्ने, शरीर र मनबीचको सन्तुलन कायम गर्ने विश्वासका कारण यसको प्रभाव चीनमा मात्र सीमित नभई अहिले विश्वका धेरै भागमा समेत फैलिएको छ।

एसिया, युरोप, अमेरिका हुँदै अफ्रिकासम्म चिनियाँ परम्परागत उपचार पद्धतिप्रति चासो र आकर्षण बढ्दै गएको छ। एक्युपङ्क्चर, जडीबुटी उपचार, ताइ–ची, क्युगङ जस्ता विधिहरूलाई धेरै मुलुकले वैकल्पिक तथा पूरक उपचारको रूपमा स्वीकार गर्न थालेका छन्। विश्व स्वास्थ्य संगठनले समेत केही चिनियाँ परम्परागत उपचार पद्धतिलाई औपचारिक मान्यता दिइसकेको छ।

विशेषगरी दीर्घरोग, नसासम्बन्धी समस्या, दुखाइ, मानसिक तनाव तथा जीवनशैलीजन्य रोगको उपचारमा चिनियाँ उपचार पद्धतिले प्रभावकारी नतिजा दिएको दाबी गरिन्छ। भारतको राजधानी नयाँ दिल्लीमा हिजोदेखि सुरु भएको परम्परागत उपचार पद्धति सम्बन्धी विश्व स्वास्थ्य संगठनको दोस्रो विश्व सम्मेलनमा विभिन्न उपचार पद्धति अपनाउने समुदायका २१ जना विज्ञले आफ्ना सफलता र आगामी योजनाबारे प्रस्तुति दिएका छन्।

स्वास्थ्य विज्ञहरूले आधुनिक चिकित्सा पद्धतिसँगै सुरक्षित र प्रमाणमा आधारित परम्परागत उपचारलाई समायोजन गर्न सके स्वास्थ्य सेवामा नयाँ सम्भावना खुल्न सक्नेतर्फ पनि औंल्याएका छन्। सोही क्रममा परम्परागत चिकित्सामा नवप्रवर्तनलाई व्यापकरूपमा स्पष्ट पार्दै छलफल तथा चासोसमेत उत्पन्न भएको छ। 

सम्मेलनमा हिमालय क्षेत्रको एउटा परम्परागत चिकित्सा टोली पनि सहभागी भएको छ। हिमालय रिङ पब्लिक वेलफेयर कोलाबरेसन मेकानिज्मको एउटा समूह विभिन्न २ हजार जनाबीच प्रतिस्पर्धामा छनौट भएर नयाँ दिल्ली सम्मेलनमा पुगेको हो। विश्वका विभिन्न मुलुक र क्षेत्रका एक हजार १७५ आवेदनमध्येबाट विश्व स्वास्थ्य संगठनले छानेका २१ जनामध्ये बेलायतको राजधानी लन्डनमा ‘आधुनिक जिब्रो उपचार पद्धति’बाट प्रख्यात चिनियाँ मूलका डा. होङ चुआन यीनले हिजो साँझ आफ्नो प्रस्तुति दिएका हुन् ।

‘एच २१’ भनिएका ती २१ जना विज्ञहरूको उपलब्धीलाई ‘हेल्थ एण्ड हेरिटेज इनोभेसन’ अर्थात् ‘स्वास्थ्य र सम्पदा अन्वेषण’को उपमा दिइएको छ। मानिसको जिब्रो हेरेर अर्थात् जिब्रो परीक्षणबाट अधिकांश रोगको पहिचान र उपचार गर्न सकिने डा. यीनको दाबी छ।

बेलायतमा निकै प्रख्यात हुँदै गएको उनको आधुनिक जिब्रो परीक्षण पद्धतिलाई कम लागत र सबैका लागि सर्वसुलभ स्वास्थ्य जाँचको नयाँ युग भन्न थालिएको छ। डा. यीनले परम्परागत चिनियाँ औषधि र आधुनिक विज्ञानको संयोजनमा आधारित भएर डिजिटल फोटोमार्फत् जिब्रो परीक्षणबाट मानव स्वास्थ्यको व्यापक मूल्याङ्कन सम्भव भएको जिकिर गरेका छन्।

 

उनको नयाँ विधिले स्वास्थ्य क्षेत्रमा रहेको ठूलो रिक्ततालाई पूर्ति गर्ने विश्वास लिइएको छ। विशेषगरी न्यून आर्थिक स्रोत भएका देश र समुदायमा, जहाँ महँगा र जटिल परीक्षण उपलब्ध हुँदैनन्, ती स्थानमा डा. यीनको नयाँ अन्वेषण वरदान हुनसक्ने अनुमान गर्न थालिएको छ ।

आफ्नो प्रस्तुतीमा उनले भने, ‘परम्परागत चिनियाँ औषधिको उपचार प्रक्रिया व्यक्ति अनुसार फरक हुन्छ। आधुनिक जिब्रो पद्धतीबाट गरिने उपचारले यो चुनौतीलाई समाधान गर्दै सिर्फ जिब्रोको डिजिटल फोटोमार्फत् शरीरको पूरै स्वास्थ्यको व्यापक जानकारी लिन सकिन्छ।’

उनले होलोग्राफिक जिब्रो चार्ट देखाउँदै शरीरका विभिन्न अंगसँग जिब्रोको सम्बन्ध रहेको दाबी गरे । विभिन्न १० सिद्धान्तहरूमा रहेको भिन्नता प्रणालीले रोग पहिचान र उपचारका लागि आधारभूत मार्गनिर्देशन दिने उनको उपचार सिद्धान्तको मुख्य आधार हो ।

जिब्रोको मध्यरेखामा देखिने श्रृंखलाले शरीरका अंगहरूमा जिब्रोले दिने संकेतहरूको विश्लेषण देखाउने उनको ठहर छ । जिब्रो–औषधि र जिब्रो–एक्युपंक्चर सम्बन्ध प्रणालीले रोग अनुसार औषधि र उपचार पद्धतिहरूको निर्धारण हुने छ ।

डा. यीनले विश्वका हजारौं स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइसकेको जनाउँदै भने, ‘त्यसमा विशेषगरी चिनियाँ औषधि र त्यसमा संलग्न परम्परागत स्वास्थ्यकर्मीहरू समावेश छन्। जिब्रो परीक्षणबाट प्रारम्भिक रोगको संकेत, विभिन्न अंगमा रहेको समस्या, शरीरको समग्र अवस्था निर्धारण गर्न सकिन्छ। यो विधि सजिलो र सांस्कृतिक रूपमा पनि स्वीकार्य भएकाले स्वास्थ्य स्क्रिनिङको नयाँ विकल्प बन्ने निश्चित छ।’

डा. यीनले आफ्नो आगामी योजनामा ‘मल्टि–ट्रोन ट्रिटमेन्ट मेसिन’ पछि निस्कने जिब्रोको तस्बिरबाट तत्काल विश्लेषण गर्न सकिने बताए । रोगको प्रारम्भिक अवस्था पत्ता लगाउन र स्वास्थ्यकर्मीहरूले लिने उपचारको निर्णय प्रक्रियालाई थप सहज र छिटो बनाउने उनको दाबी छ।

डा. यीन भन्छन्, ‘जिब्रो परीक्षणबाट गरिने उपचार पद्धति परम्परागत चिनियाँ औषधि र आधुनिक विज्ञानको संयोजन हो ।’ यो नै पहिलो व्यापक प्रणाली भएको बताउँदै उनले भने, ‘कम लागतमा धेरैले स्वास्थ्य लाभ गर्न सक्छन्। विभिन्न समुदायमा सहज पहुँचको सम्भावना उत्तिकै छ। साथै यो सरल प्रविधिले विश्व स्वास्थ्य क्षेत्रमा पहुँचयोग्य, समग्र र प्रारम्भिक उपचारको नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ।’

टिप्पणीहरू