वैकल्पिक राजनीति : केवल नयाँ दल वा जिम्मेवार र सक्षम नेतृत्व ?
नागरिक किन परिवर्तन चाहन्छन् ? किन परम्परागत राजनीतिक दल तथा नेताप्रति नकारात्मक भावना बढ्दै गयो ? भन्ने प्रश्नको उत्तर नेपालकै राजनीतिक इतिहास केलाउने हो भने स्पष्ट रूपमा भेटिन्छ।
२०५८ सालको दरबार हत्याकाण्डपछि राजगद्दी सम्हालेका राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष रूपमा राज्य सञ्चालन गर्न थाले । शासनशैली, सुशासन र लोकतान्त्रिक मूल्यहरूप्रति असन्तुष्ट राजनीतिक दलहरू एकताबद्ध भई आन्दोलनमा उत्रिए । फलस्वरूप २०६२÷६३ को तेस्रो जनआन्दोलनले राजाको शासन अन्त्य गर्यो र दलहरू पुनः सत्तामा हाबी भए।
तर त्यसपछि आशातित रुपमा नागरिकको अभिमत र अपेक्षाको कदर हुन सकेन। राजनीतिक दलका नेतृत्वहरू विभिन्न शीर्षक र बहानामा राज्य दोहनमा लिप्त हुँदै गए। विदेशी दबाब र स्वार्थअनुसार राज्यसत्ताको खेल चल्न थाल्यो।
नेपालको राजनीतिक इतिहासमा लगभग हरेक निर्वाचनपछि ठूला दलहरू पक्ष–विपक्षमा रहे पनि अन्ततः आपसमा तालमेल गर्दै दुई तिहाइको दम्भसहित सत्तामा पुग्ने प्रवृत्ति दोहोरिन थाल्यो। यसले राजनीति थप अन्योलपूर्ण र अविश्वसनीय बन्दै गएकोमा दुईमत छैन ।
राज्यसत्ता दाजु–भाइबीच पैतृक सम्पत्ति झैँ भागबण्डा गर्ने संस्कृतिले नागरिक आजित भए। नेतृत्व वर्ग आफूहरू नै स्थायी शासक हुने भ्रममा रमाइरहँदा जनता भने विकल्पको खोजीमा थिए। यही परिस्थितिको परिणामस्वरूप २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। यसले नागरिक परिवर्तन चाहन्छन् र वैकल्पिक राजनीतिका लागि तयार छन् भन्ने सन्देश स्पष्ट रूपमा दियो ।
पुराना दलका नेतृत्वहरू पुरानै सोच र शैलीमा सरकार सञ्चालन गर्न लागिपरे । साना गल्तीहरूले पनि देश तहसनहस हुने अवस्था सिर्जना भयो । नागरिकहरू राजनीतिक निकासको खोजीमा अग्रसर थिए भन्ने कुरा नेपाली राजनीतिक इतिहास स्वयम् साक्षी छ।
यसै क्रममा सामाजिक सञ्जाल बन्द गर्ने प्रयास, जेन जी आन्दोलन र त्यसपछि बनेको नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारलाई राजनीतिक इतिहासले तरल र अस्थिर अवस्थाको रूपमा लिन्छ। आन्तरिक कलहले ग्रसित नेताहरूले आफ्ना कमजोरी छोप्न कुनै नयाँ सोच र स्पष्ट परिकल्पनाबिनै सरकार गठन गरे। यसको कारण नागरिक आफैं बुझ्ने अवस्थामा थिए।
कांग्रेस र एमालेले राज्यसत्ताको बागडोर सम्हाले पनि दुवै दलभित्र असन्तुष्टि र गुटबन्दी कायमै रह्यो। परराष्ट्र नीतिको सन्दर्भमा अवस्था झनै कमजोर देखियो। सार्कजस्ता क्षेत्रीय संगठन निष्क्रिय हुनु, दक्षिण एसियामा दक्षिणी र उत्तरी ध्रुवीय शक्तिको प्रभाव बढ्नु, भारत, पाकिस्तान, बंगलादेश र नेपालमा देखिएको राजनीतिक उथलपुथल—यी सबैको असर नेपालमा पनि गहिरो रूपमा परेको छ।
वर्तमान परिस्थितिको सिर्जनामा कांग्रेस–एमाले सहकार्यको राजनीतिले ठूलो भूमिका खेलेको छ। तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल प्रतिबन्धको प्रयास गर्नु एउटा गम्भीर भूल थियो । उक्त घटनालाई नेपाली राजनीतिमा बेग्लै ढंगले हेर्नुपर्ने भएको छ।
जेन जी आन्दोलनले परिवर्तनका लागि नागरिकलाई केवल ठूला राजनीतिक एजेन्डा होइन, भरोसायोग्य विकल्प र जवाफदेही नेतृत्व चाहिने सन्देश दिएको छ । आगामी निर्वाचनमा नागरिक नयाँ दलहरूलाई पनि गम्भीर चासोका साथ हेरिरहेका छन्।
अब प्रश्न उभिएको छ— आगामी दिनमा वैकल्पिक राजनीति के हो ?
के त्यो केवल नयाँ दल हो वा नयाँ सोच, नयाँ राजनीतिक संस्कृति र उत्तरदायी नेतृत्व ?
यसको उत्तर अब नागरिककै हातमा छ।
— रविनसिंह बस्नेत
टिप्पणीहरू