विध्वंश नियोजित थियो तर आन्दोलन अपूर्ण छ
दिनहरू फेरिँदै छन् । हराएका शब्द ‘मिलिशिया’, ‘वाइसिएल’, ‘जनमुक्ति सेना’, ‘लडाका’ सतहमा जाग्दै छ । हुन सक्छ, खोलामा पुरिएर हराएका हतियारहरू फेला पर्नेछन् । शिविरहरू जाग्ने छन् ।
केपी कमरेडले भन्न पाउनुहुनेछ– ‘बयलगाडा चढेर अमेरिका हिँडेको, न पुगिने नै रै’छ, फर्किआएँ आफ्नै ठाउँमा ।’ शेरबहादुरजीले भनेको पनि सुन्नेछौँ कि–‘गोरखाका राजाले न्याय नदेलान् भनेको तर फेरि पनि उनैबाट न्याय पाएँ ।’
सुशीला कार्कीको मनभित्रका टिप्स पनि मेटियो । सन्तोष मान्ने नै होला कि आफ्ना श्रीमान्ले ‘मोरङ–१’ को संसदीय निर्वाचनमा प्रतिद्वन्द्वी गिरिजाप्रसादविरुद्ध लडेर जमानत जफत गराए पनि आफू मुलुककै प्रधानमन्त्री भइछाडें ।
ऊ बेलाका राजालाई पनि लाग्दो हो–‘दुर्गा प्रसाईंको चक्करमा परी हस्तिनापुरको राज खोज्नुभन्दा त चपरीमुनिको बास नै श्रेयष्कर’ रै’छ । सबको भाग पुग्दै छ अबको राजनीतिमा !’
यी भनाइ मेरा होइनन् । तत्कालीन प्रधानन्यायाधीश र अहिलेकी संविधानइतर काकताली प्रधानमन्त्री सुशीला कार्कीको पूर्वाग्रहका कारण भ्रष्टाचार सावित नै नभएको अर्घेल्याइँका कारण राजनीतिको मैदानबाट पाखा पारिएका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताको हो ।
पञ्चायतकालमा बिजुलीबजारस्थित भरत जंगमको घरमा देशान्तर साप्ताहिकको कार्यालय थियो । अफिस के भन्नु, एउटा ठूलो हलमा ठूलो टेबल थियो । किशोर नेपाल, शिव अधिकारी, जयप्रकाश आनन्द (जेपी दाइ)सहित हामी कनिष्ठ सिकारुहरू त्यही टेबलमा सुख्खा चाउचाउ फाँक्दै समाचार लेख्ने गथ्र्यौं ।
०४८ सालपछि जेपी दाइ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रेस सल्लाहकार हुँदासम्म पनि ठीकठाक नै थियो । उनी मेरालागि सरकारी सूचनाका एक भरपर्दा स्रोत थिए । उनी सञ्चारमन्त्री भएपछि मात्रै थाहा भयो, जयप्रकाश आनन्दको रूपमा हामीले चिनेका र पत्याएका जेपी दाइको कानुनी नाम त जयप्रकाशप्रसाद गुप्ता पो रहेछ । तर, उनले शपथग्रहण गर्दा दौरासुरुवालमाथि लगाएको खरानी रंगको महँगो कोट र भादगाउँले टोपी देखेपछि मेरो मन भरंग भयो ।
पञ्चायतकालमा राष्ट्रवादको प्रतीक मानिने यो पोशाकधारी सिडिओहरूद्वारा प्रताडित मलाई दौरासुरुवालधारी हरेक मान्छे शोषक, सामन्ती र सत्ताको दलाल लाग्छ । यो मेरो पूर्वाग्रह हुन सक्छ । तर, जेपी दाइ मन्त्री भएको भोलिपल्टै मेरो उहाँसँगको सम्बन्ध कित्ताकाट भयो ।
जेपी दाइले पत्रकारितालाई छिर्के हानेर राजनीतिक सुख–सयल र सम्मानको बाटो नरोजेको भए, उनको इतिहास आज अर्कै हुने थियो । राजनीतिमै हुन्थे भने उनको काठमाडौँ मात्र होइन, सप्तरी कञ्चनपुरको घरसमेत जल्ने पक्का थियो । जेपी दाइको घर नजले पनि मन जलेको छ । छोरा पुस्ताले गरेको आन्दोलन र त्यसमा भएको घुसपैठले उत्पन्न परिस्थितिबारे उनको पुरानो लेखकीय क्षमता जागृत भए जेनजी पुस्ताका निम्ति एक मार्गदर्शन हुन सक्छ ।
आशंका, अन्योल र विभाजनग्रस्त जेनजी विद्रोह
००७ सालदेखिको इतिहास फर्केर हेर्दा नेपालमा सरदर एक दशकको अन्तरालमा आन्दोलन हुँदै आएका छन् । तर ०८२ सालको यो आन्दोलनको पछिल्ला आन्दोलनसँग तुलना हुन सक्दैन । यसप्रकारको विध्वंश यसअघि कसैले कल्पनासमेत गरेको थिएन । यसअघिका हरेक आन्दोलनले नेपालको प्रजातान्त्रिक यात्रामा कुनै न कुनै रूपमा कोशे ढुंगा थप्दै आएका थिए । तर यो आन्दोलन नामक अपहृत विध्वंशले अग्रगामी बाटो पहिल्याउने आशामा शंकाको तुँवालो लाग्न थालिसकेको छ । ७५ युवाको सहादतको चितामा ज्वाजल्यमान यो गैरराजनीतिक र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रतिनिधित्व गर्ने सरकारले मुलुकको नाडी छाम्न सकेको छैन ।
कथित जेनजी आन्दोलनमा जुन मानवीय र भौतिक क्षति भयो, त्यसले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको कायापलट गर्ने क्षमता राख्दछ । तर यसको तार्किक निश्कर्ष एक थान नयाँ सरकार बनाउने निर्वाचनमा पुगेर टुंगिने सम्भावना टड्कारो छ । सुशीला कार्कीको संविधानले नचिन्ने अन्तरिम सरकार कुन शक्तिप्रति आसक्त र उत्तरदायी छ, स्पष्ट भइसकेको छैन । चुनाव त गर्ने हो, उनको कार्यादेश नै यही हो । तर सरकार जनता र राजनीतिक दललाई विश्वासमा लिन असफल हुँदैछ । कार्की सरकारको उद्देश्य ‘जेनजी’ नामका अमूर्त, अस्पष्ट र विभाजित समूहलाई खुशी पार्नुमा केन्द्रित हुनुले आगामी परिणामप्रति सकारात्मक हुने भरोसा दिएको छैन ।
जेनजी आफैँ विभाजित छ । नेपाली राजनीतिमा आन्दोलन एक नियमित आकस्मिकता भएको छ । यसअघिका आन्दोलन एक निश्चित राजनीतिक सिद्दान्त र आदर्शको जगमा टेकेर हुने गरेका थिए । यसपटकको आन्दोलन आन्दोलन थिएन । एक योजनाबद्द विध्वंश थियो । यसको राजनीतिक लक्ष्य थिएन । एकीकृत नेतृत्व थिएन । विध्वंश सुनियोजित थियो, तर उद्देश्य छरपष्ट ! नेपालका पुराना आन्दोलनले सत्ता र सत्तासीनहरूको अनुहार परिवर्तन गर्यो । तर राज्यशक्तिको चरित्र परिवर्तन गर्न सकेन । कहालीलाग्दो बिनाशको कारक यो आन्दोलन पनि अपवाद हुने छैन ।
सेनाको प्रत्यक्ष आडमा राजधानी महानगरका महामेयर बालेन्द्र साहले झुण्ड्याएको कालो पर्दाको नेपथ्यबाट सुशीला कार्की उदाउनु आफैँमा आश्चर्यजनक थिएन । सेनापतिसँग ‘परामर्श’ गर्न भद्रकाली दरवार पुगेका जेनजी प्रतिनिधिलाई ‘विस्तारपूर्वक’ कानुनी पाठ पढाउने बालेन्द्र साहका औपचारिक कानुनी सल्लाहकार ओमप्रकाश अर्याल पहिले नै सेनापतिसँग भलाकुसारीमा थिए । त्यसैले उनी गृहमन्त्री हुनु पनि स्वाभाविक थियो । सरकारका बाँकी मन्त्रीहरूको चयन पनि शुरुमै भैसकेको थियो । आठ जनामध्ये पाँच जनासँग कुनै न कुनै रूपले पश्चिमा शक्तिकेन्द्रसँग सामीप्यको इतिहास थियो । एकथरी जेनजीका प्रतिनिधिलाई मन्त्रिमण्डलको यो स्वरूप चित्त बुझेको छैन ।
सुदन गुरुङ नामक डिस्कर्ड वार्ता सञ्चालक आन्दोलनमा हामी नेपाल नामक संस्था बोकेर पानी बाँड्न जाँदाजाँदै अचानक कसरी सिङ्गै आन्दोलनको नेता भयो ? उसमा कुनै राजनीतिक चेत देखिँदैन । जेनजीको नाममा दृश्यमा आएका अन्य अभियन्ताले भेउ पाउन सकेका छैनन् । मन्त्री हुने नाम कुन शक्तिकेन्द्रबाट फुत्तफुत्त बाहिर आउँदैछ ? उनीहरू चकित छन् । जेनजी आन्दोलनका अभियन्ताहरूको नाममा आन्दोलनसँग कुनै सम्बन्ध नै नभएकाहरू कसरी सत्तामा पुग्दैछन् ? जो सडकमा थिए, उनीहरूको आक्रोश जायज छ ।
त्यसैले जेनजीको नाममा थप नयाँ–नयाँ नाम मन्त्री पदका लागि प्रस्तावित हुन शुरु भैसकेको छ । सुशीला कार्की, सेनापति सिग्देल र बालेन्द्र साहलाई राजनीतिक रूपले सचेत अन्य जेनजी अभियन्ताहरूको तुलनामा सुदन गुरुङलाई काखी च्याप्नु सहज र सुविधाजनक छ । तर, यसले जेनजी आन्दोलनलाई थप विग्रहको गोरेटो डो¥याउँदै छ । विभाजित शक्तिको सामना गर्न सरकारलाई सजिलो हुन्छ । सुशीला कार्कीको देवत्वकरण वा दानवीकरण गर्नु जरुरी छैन । उनको वास्तविक चरित्र, औकात र उनलाई बोक्ने शक्तिकेन्द्रको अभिष्ट प्रकट हुन अब धेरै कुर्नुपर्ने छैन ।
अब के त ?
वर्तमान सरकारका बहुमत सदस्य कांग्रेस वा एमालेजस्ता ‘परम्परागत’ दलप्रति घृणाभाव मनोवृत्ति भएका छन् भन्दा अतिशयोक्ति हुँदैन । जनतामा, विशेषतः एमाले अध्यक्ष केपी ओलीप्रति कुनै अपनत्व छैन । सेनाको सुरक्षा घेराबाट आफ्ना लेफ्टिनेन्ट महेश बस्नेतको घरटोल गुण्डु पुगेका ओली जुन रूपले सिंहासनमा विराजमान भएर ठूलो कुरा गर्न थाले, त्यसले उनीप्रति झन् बितृष्णा बढेको छ । उनले आफ्नो शासनमा टाउकोमा गोली लागेर मरेका र घाइते विद्यार्र्थीको अवस्थाप्रति एक शब्द उच्चारण गर्न उचित ठानेका छैनन् । ओली वा ओली भक्तले यो सत्य आत्मसात् नगर्नु अर्कै कुरा हो । तर, यसको परिणाम निर्वाचन भएको अवस्थामा एमालेको पोल्टामा पर्ने संसदीय सिटले प्रमाणित गर्नेछ ।
ओलीका हनुमानहरूलाई यसको आभाष छ । त्यसैले सकेसम्म उनीहरू चुनाव नलड्ने वा हुन नदिने प्रयत्नमा छन् । एमालेका तर्फबाट संसद भंग हुनु र सुशीला कार्कीको मनोनयन हुनु ‘असंवैधानिक’ भएको दावीसहित अदालतमा रिट पर्ने कुरा निश्चितप्रायः छ । यो कुरा बेग्लै हो कि आफ्नो ज्यान जोगाउन भाग्दाभाग्दै सुशीला कार्कीलाई सिफारिस गर्ने पनि ओली स्वयं थिए । अदालतमा बहस लम्बिनुको अर्थ चुनाव लम्बिनु हो । एमाले समय तन्काएर आफ्नो रणनीति बनाउन चाहन्छ भने त्यो उसको आफ्नो स्वार्थी रणनीतिका हिसाबले जायज हो ।
कांग्रेसको अवस्था पनि भिन्न छैन । यस दलका ‘डि जुरे’ सभापति शेरबहादुर देउवा र ‘डि फ्याक्टो’ नेता आरजू राणाले मुलुकमा राणाकालीन हैकम चलाएको देखेर जनता मात्र होइन, पार्टीका कार्यकर्तासमेत आजित थिए । शायद त्यसैले, भीड उनीहरूको बेडरुमसम्म पुगेर भौतिक आक्रमण गर्दा नेपालको सबैभन्दा ठूलो पार्टीका एकजना कार्यकर्तासमेत सुरक्षामा खडा भएनन् । न नेपाली जनताले यो शासक दम्पतीको पक्षमा सहानुभूतिको एक शब्द खर्च गरेको छ ।
कांग्रेस अहिलेसम्म चुनावका सम्बन्धमा एमालेझैं उदासीन देखिएको छैन । मध्यमार्ग नेपाली कांग्रेसको सदाबहार रणनीति हो । दलका युवा महामन्त्रीद्वय नियमितभन्दा छिटो महाधिवेशन गर्नुपर्ने अभियानमा छन् । आफ्नो स्वार्थ हेरेर दोहोरो भूमिका खेल्न खप्पिस वैकल्पिक नेता शेखर कोइराला देउवाको पक्षमा देखिएका छन् । कांग्रेस अहिले पुस्तान्तरणको प्रसव वेदनामा छ ।
आफ्नै घर जल्न दिएर एक दृश्यको सिर्जना गर्ने माओवादीका पुराना अध्यक्ष, हालका ‘संयोजक’को दोहोरो भूमिका जेनजीका आन्दोलनकारीबाहेक नेपाली सेना, नेपाल प्रहरी र राजनीतिक दलका नेतालाई थाहा नभएको होइन । संसद जलाउने दुर्गा प्रसाईंंका कार्यकर्ता, सिंहदरवार जलाउने राजावादी झुण्ड र सर्वोच्च अदालत जलाउने रास्वपा नामधारी हुलमा प्रचण्डका कार्यकर्ताको समानुपातिक प्रतिनिधित्व रहेको कुरा कमसेकम सेनाको ‘डिएमआई’ अर्थात् डिपार्टमेन्ट अफ मिलिटरी इण्टेलिजेन्सलाई थाहा छ । तर, प्रचण्ड चुनावका लागि तयार छन् । चुनाव नभए पनि तयार छन् । जेनजीले प्रचण्ड र पुराना नेताले ३० वर्षमा खडा गरेको ‘सिष्टम’ बुझ्न बाँकी छ ।
नीलो स्यालका रूपमा उदाएको सहकारी ठग आरोपी रास्वपा सभापतिको नियति निकट भविष्यमा अँध्यारो छ । उनको छालामा टाँस्सिएका परजीवीलाई झन् अस्तित्वको संकट छ । त्यसैले अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयबाट दीक्षित उपसभापतिको नेतृत्वमा गठित समितिले नित्य नयाँ मन्त्र फुक्न थालेको छ । कहिले बालेन साहको नेतृत्व, कहिले कुलमान ! आफू लायक नहुँदाको दरिद्र पीडा र मर्म रास्वपा नामका हुँडारहरूलाई थाहा छ । यिनीहरू अर्काको शिकारको एक चोक्टा पाउँदा पनि सन्तुष्ट हुन्छन् । यो पार्टीले दुई पटक सरकारमा सहभागिता जनाउँदा नै नीलो पार्टीको घण्टी बजिसकेको छ । तत्कालका लागि यो बम्बईको लड्डु हो । यसले ठोस आकार लिन बाँकी छ ।
यी सारा प्रकरणमा मलाई राप्रपा नामधारी पार्टीका जनजातिको प्रतिनिधित्व गर्ने राजेन्द्र लिङ्देन र त्यो दलप्रति दया लागेको छ । जेठको तीनकुने आन्दोलनमा उनको कुख्याती चरममा थियो । बाढी आएको खोलाले सुकेका दाउरा र झारपात किनारामा मिल्काएर अघि बढ्छ । हिरासतमा हुँदा दिनको दुईवटाको दरले कविता लेखेर किताब छपाएका रवीन्द्र मिश्रको फेसबुक पोष्टबाहेक त्यो दलको त अचेल नाम–निशान छैन ! नेपालका स्थापित दलले आफूभित्र नयाँ रक्तसञ्चार गरेर अहिलेको सरकारमाथि चिलको आँखा नलगाए, यी दलको पनि नाम निशान रहनेछैन । आकाशमा गिद्ध घुम्दै छन् ।
जेनजीको आवरणमा प्रकट भएको सुशीला कार्कीको सरकार अधिनायकवादको पहिलो खुड्किलो हुन सक्छ । पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताको वचनमा मलाई एकरत्ती विश्वास छैन । तर जेपी दाइले हृदयले भनेका हुन् भने यो कुरा ठीक लाग्यो, ‘सबको भाग पुग्दैछ अबको राजनीतिमा !’
आजसम्म दलित, सीमान्तकृत र आफ्नै देशमा दोस्रो दर्जाको नागरिकतुल्य जीवन बाँच्ने एउटा वर्ग छ । जेनजीले कम्प्युटर चलाउँदैमा ‘ए आई’ले यो जानकारी दिँदैन । हावामा उठाइएको आन्दोलनले धर्तीको पीडा बुझ्दैन । यसपटक भएको पनि यस्तै हो । विध्वंश नियोजित थियो । तर, आन्दोलन अपूर्ण छ ।
टिप्पणीहरू