ज्ञानेन्द्र शाहीले रास्वपामा ‘पत्ता’ खोजेको लामाको दावी
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ छिरिङ ल्हामु लामाले अवसरवादसँग स्पष्ट वैचारिक दृष्टिकोण नहुने भन्दै राप्रपा नेता ज्ञानेन्द्र शाहीलाई कटाक्ष गरेकी छन्।
राजसंस्थाको एजेण्डा छोडेर रास्वपाको महामन्त्रीका लागि बार्गेनिङ गरिरहेको सूचना पाएको बताउँदै लामाले शाहीलाई अवसरवादीको संज्ञा दिएकी हुन् । शाहीका निकटस्थहरूबाटै आफूले यस्तो सूचना पाएको उनको भनाइ छ ।
‘राजा ल्याउँछु भन्ने व्यक्ति घण्टी पार्टीमा प्रवेश गर्न अन्तिम तयारीसम्म पुगेको रहेछ, तर त्यहाँ पनि ‘पत्ता’ खोज्न थालेको तथ्य खुलेको छ’, लामाले भनेकी छन्, ‘घण्टी पार्टीको महामन्त्री पाउने भए राजा ल्याउनतिर नलाग्ने सोचमा रहेछ, तर घण्टी पार्टीका नेताले कुनै पनि हालतमा महामन्त्री नदिने भनेपछि कुरा नमिल्दा अब राजा ल्याउने कि नल्याउने भन्ने दोधारमा उभिनुपरेको छ ।’
पूर्व सांसदसमेत रहेकी लामाले यस्तो विचारलाई तपाई के भन्नुहुन्छ ? भनेर जिज्ञासा पनि राखेकी छन् । ‘मेरो लागी यो विचारको राजनीति होइन, अवसरको राजनीति हो । विचार पदभन्दा ठूलो हुन्छ, तर पदलाई विचारभन्दा माथि राख्नेहरू सधैं दोधारमै अल्झिरहन्छन्’, उनले थपेकी छन् ।
एउटै गृह जिल्ला (जुम्ला) घर भएका शाही र लामाबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चल्दै आएको देखिन्छ ।
टिप्पणीहरू