भुक्तानी नपाएपछि टिचिङमा बीमा कार्यक्रम बन्द

भुक्तानी नपाएपछि टिचिङमा बीमा कार्यक्रम बन्द

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमामार्फत उपचार बन्द गर्ने भएको छ । सरकारले भुक्तानी नदिएका कारण माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गत सम्पूर्ण उपचार सेवा बन्द गर्न लागेको अस्पताल प्रशासनले जनाएको छ । 

स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच वि.सं. २०७७ सालमा बीमा कार्यक्रमका लागि सम्झौता भएको थियो । त्यसयता बीमा कार्यक्रममार्फत उपचार हुँदै आएको थियो ।

बीमामार्फत उपचार गर्ने बिरामीको संख्या निरन्तर बढ्दै गएको उल्लेख गर्दै प्रशासनले मासिक पाँच करोड रुपैयाँ खर्च हुने बताएको छ । अस्पताल प्रशासनका अनुसार सरकारले ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । 

पटकपटक भुक्तानी माग्दा पनि सुनुवाई नभएको अस्पतालको गुनासो छ । बोर्ड र अस्पतालको दररेट फरक भएकाले मासिक दुई करोड रुपैयाँ घाटा खाएर उपचार गरिरहनुपरेको जनाइएको छ ।  

‘अस्पतालमा आउने बिरामीहरुको उपचारको क्रममा, बीमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको र अस्पतालले बारम्बार अस्पतालको रकमलाई अन्तिम रकम मानिदिनु भनि विगत दुई वर्षदेखि आग्रह गर्दापनि कुनै सुनुवाई नभएको साथै आफ्नो आन्तरिक स्रोतबाट अस्पतालले सम्पूर्ण खर्च व्यहोर्नुपर्ने हुँदा मासिक दुई करोड घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएको...’,अस्पतालको सूचनामा उल्लेख छ । 

यता, बोर्डले उपचार खर्चको ५० प्रतिशत मात्र बीमा दाबी स्वीकृत गर्दा बाँकी ५० प्रतिशतको भार अस्पतालले नै व्यहोर्नुपर्ने भएको छ । स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले २०७२ चैत २५ गतेदेखि बीमा कार्यक्रम शुरु गरेको थियो । 

देशभरका झण्डै पाँच सय अस्पतालमा यो कार्यक्रम सञ्चालन गरिएको छ । तर, सरकारले भुक्तानी दिन नसक्दा स्वास्थ्य बीमा सञ्चालन भएका अस्पतालहरू आर्थिक संकटमा परेका छन् ।

टिप्पणीहरू