गगनतिर लागेका ८८५ जना सानेपा फर्किएको दावी
नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताले निर्णय बदलेको दावी गरेको छ ।
पार्टीको आधिकारिकता दावी गर्न आज निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सो जानकारी गराएका हुन् । विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८ सय ८५ जना प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको सूचना पार्टी कार्यालयमा बुझाएको उनले बताए ।
विशेष महाधिवेशन भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको खड्काको भनाइ छ । उनीसहित स-शरीर उपस्थित भएको केन्द्रीय समितिका बहुमत सदस्यले पार्टीले विशेष महाधिवेशन नबोलाएको र गगन थापाको नेतृत्वमा बनाइएको समिति अवैध भएको जिकिर गरेका छन् ।
यीनै अधार पेश गर्दै खड्काले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तस रामप्रसाद भण्डारीसमक्ष विवाद छिटो निरुपणका लागि आग्रह गरे ।
‘हस्ताक्षरकर्ता, सहभागीकर्ता भन्नेखालको कुरा आएको छ । ति हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्य सचिचवसँग भेलाभन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’
तर, गगन नेतृत्वको समूहले भने विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी नै आधिकारिकता भएको दावी गर्दै आयोगसमक्ष अद्यावधिकको निवेदन दिइसकेको छ ।
टिप्पणीहरू