रविको अभियोग फिर्ता लिने निर्णयविरुद्ध मुद्दा दायर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर माग्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सिन्धुलीका युवराज सफलले महान्यायाधिवक्ता कार्यालय,महान्यायाधिवक्ता सबिता भण्डारी,जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौं, रुपन्देही,कास्की र चितवनलाई विपक्षी बनाउँदै आज मुद्दा हालेका हुन् ।
आफैंले लगाएको अभियोग र दायर गरेको मुद्दा फिर्ता लिने कार्यालयको निर्णयले कानुनी शासनलाई पराजित गर्ने सफलको भनाइ छ । महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको उल्लेख गर्दै उनले कार्यान्वयन गर्न जारी निर्देशनहरु बदरको माग गरेका छन् । कार्यालय संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध अपराधको अभियोगलाई कमजोर बनाउन तल्लिन रहेको उनको आरोप छ ।

रविविरुद्धको अभियोग फिर्ता लिन कार्यालयले टेकेको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ पनि कानुनविपरीत रहेको सफलले बताएका छन् । ‘थप प्रमाण फेला परेको अवस्था नभएको हुँदा उक्त निर्णय त्रुटिपूर्ण मात्रै नभएर उक्त दफा ३६ को दुराशयपूर्ण रुपमा प्रयोग भएको हुँदा महान्यायाधिवक्ताबाट गैरकानुनी कार्य भएको प्रष्ट छ’,मुद्दामा उल्लेख छ ।
उनले संविधानको धारा १३३(२),(३) बमोजिम उत्प्रेषण, परमादेश, प्रतिशोधलगायतका उपयुक्त आदेश जारी गर्न माग गरेका छन् । त्यसैगरी, संगठित अपराध एवं सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दालाई कमजोर बनाउने काम–कारबाही गर्नबाट महान्यायाधिवक्तालाई रोक्न परमादेशको आदेश जारी गर्न भनिएको छ ।
उनले भनेका छन्,‘उक्त गैरकानुनी निर्णय यो मुद्दाको अन्तिम निर्णय नभएसम्म कार्यान्वयन नगर्नु र कार्यान्वयन गर्न कुनैपनि कानुनी प्रक्रिया अवलम्बन नगर्नु–नगराउनु भनि श्री सर्वोच्च अदालत, सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ ।’
महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते रविविरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णय गरेको छ । कानुनविपरीत गरिएको सो निर्णयको चौतर्फी विरोध भइरहेको छ ।


टिप्पणीहरू