‘कुनै आयुक्तले टुँडिखेलमा गएर माघ ६ गते नोमिनेसन हुँदैन भन्यो भने के हुन्छ ?’
नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आफ्नो पार्टी विभाजन भएको नभई गगन थापाको नेतृत्वमा केही मान्छेहरू चोइटिएर गएको टिप्पणी गरेका छन् ।
आज बिहान निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका उनले बहुमत केन्द्रिय सदस्य अहिले पनि आफूहरूसँगै रहेको बताए । त्यसकारण यो आयोगसम्म पुग्नुपर्ने विषय नै नरहेको उल्लेख गर्दै डा. कोइरालाले सञ्चारमाध्यमले बाध्य बनाएकाले आउनुपरेको तर्क गरे ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताको कुरा लोकतान्त्रिक पद्धतिअनुसार निरुपण गर्ने विश्वास उनले राखेका छन् । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउनसक्ने भए पनि महाधिवेशनको कार्यसूचि, कार्यतालिका,कार्यविधि केन्द्रीय समितिले नै बनाउनुपर्ने विधानमा स्पष्ट व्यवस्था रहेको आयोगलाई स्मरण गराए ।
कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार नरहेको जिकिर गर्दै कोइरालाले व्यक्ति नभइ संस्थाले गरेको निर्णयमात्र आधिकारिक हुने स्पष्ट पारे । उनले प्रश्न गरे- ‘हामी यहाँ आउनै नपर्ने जस्तो मलाई लाग्छ । तर सञ्चारमाध्यमहरुले हामीलाई बाध्य बनाइदिए । उहाँहरूले निर्णय गर्न मिल्छ ?’
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आयोगमा पुगेका कोइरालाले यस सन्दर्भमा एउटा उदाहरणसमेत पेश गरेका छन्। ‘म एउटै प्रश्न गर्न चाहन्छु-आज टुँडिखेलमा गईकन कुनै निर्वाचन आयुक्तले माघ ६ गते नोमिनेसन हुँदैन भन्यो भने त्यो निर्वाचन आयोगलाई मान्य हुन्छ कि हुँदैन ? व्यक्ति होइन, हामीहरूले संस्था खोजेको। संस्थालाई हेरेर हामी अगाडि जानुपर्ने हुन्छ’, उनले भने ।
काँग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी छुट्टै केन्द्रीय कार्यसमिति चयन गरेसँगै सो पार्टी विभाजित छ । दुवै पक्षले आधिकारिकता दावी गरिरहेका छन् ।
टिप्पणीहरू