अविवाहित युवतीले बच्चा जन्माएको घटनामा एक पक्राउ

अविवाहित युवतीले बच्चा जन्माएको घटनामा एक पक्राउ

सिन्धुपाल्चोकको मेलम्चीमा अविवाहित युवतीले बच्चा जन्माएको घटनामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले दुई साताअघि एक युवकलाई नियन्त्रणमा लिएको हो । 

मेलम्चीकै २० वर्षीया दलित युवती केही महिनाअघि वडा नम्बर ११ स्थित शिवशक्ति स्वास्थ्य क्लिनिक प्रालिमा गर्भपतन गराउन गएकी थिइन् । उनले त्यहीँ शिशुलाई जन्म दिएकी हुन् । 

तर, उनले शिशु लैजान मानिनन् । उनले नमानेपछि क्लिनिककी स्टाफ नर्स शान्ता जिरेलले बच्चा फ्ँयाक्ने क्रममा स्थानीयले समातेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय, मेलम्ची पठाएपछि मात्र घटना बाहिर आएको थियो ।

यता, सो क्लिनिकको दर्ता नै नभएको पाइएको छ । उक्त क्लिनिकलाई बन्द गर्न निर्देशन दिएपनि अटेर गरिरहेको अवस्था छ । युवतीलाई भने माइती नेपालमा राखिएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार युवतीले जाहेरी दिएको युवकलाई नियन्त्रणमा लिइएको हो । 

हाल प्रहरीले घटनामाथि अनुसन्धान गरिरहेको उनले जानकारी दिए । जनआस्थासँग उनले भने,‘हामीले एक जनालाई नियन्त्रणमा लिएका छौं । अनुसन्धान चलिरहेको छ । हामीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि मुद्दा दायर हुन्छ ।’

टिप्पणीहरू