अलग भान्छा होइन,एउटै संरचनाभित्र सन्तुलन रणनीतिको सन्देश

अलग भान्छा होइन,एउटै संरचनाभित्र सन्तुलन रणनीतिको सन्देश

चिनियाँ राजनीतिक विश्लेषक तथा सरकारका सल्लाहकार चोङ योङनियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीति,भेनेजुएलामा देखिएको अस्वाभाविक अमेरिकी सक्रियता र चीनको दीर्घकालीन कूटनीतिक रणनीतिबारे महत्वपूर्ण टिप्पणी गरेका छन् । साउथ चाइना मर्निङ पोस्टको ‘खुला प्रश्न’ श्रृंखला अन्तर्गत चोङले चीन कहिल्यै पनि अलग विश्व व्यवस्था ‘सेपरेट किचन’ को पक्षपाती नरहेको उल्लेख गरे ।

उनका अनुसार ट्रम्पले अघि सारेको अहिलेको नीति शताब्दी पुरानो मोनरो डक्ट्रिनको परिमार्जित रूप हो । यसलाई उनले २१ औं शताब्दीमा ‘डोनरो सिद्धान्त’ को संज्ञा दिएका छन् । इतिहासको कालखण्डमा अमेरिकाले ल्याटिन अमेरिका र पश्चिमी गोलार्धलाई आफ्नो प्रत्यक्ष प्रभाव क्षेत्रका रूपमा पुनः स्थापित गर्न खोजेको थियो । भेनेजुएलाप्रति ट्रम्प प्रशासनले देखाएको गैरकानुनी रवैयालाई उनले सोही रणनीतिको नयाँ मोडल भनेका छन् ।

विश्लेषक चोङले यस किसिमको अमेरिकी रणनीतिले क्षेत्रीय शक्ति सन्तुलनका साथै विद्यमान विश्व व्यवस्थाको संरचनामा नै परिवर्तन ल्याउनसक्ने खतरातर्फ औंल्याएका छन् । भेनेजुएला जस्ता स्रोत साधनले सम्पन्न देशहरू ठूला शक्ति राष्ट्रहरु बीचको प्रतिस्पर्धाको केन्द्र बन्दै गएको उनको विश्लेषण छ।

वर्तमान अवस्थामा चीनको भूमिकाबारे उनले भने ‘अमेरिकी रवैयाको विरोध गर्नुको विकल्प छैन । त्यसैगरी विकल्पका रूपमा छुट्टै शक्ति–केन्द्र निर्माण गर्नु पनि उचित होइन  । बरु, चीन वर्तमान अन्तर्राष्ट्रिय प्रणालीभित्रै रहेर आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ ।’ उनका अनुसार चीन कदापी ‘अलग भान्सामा’ भात पकाउन चाहँदैन । 

उनका अनुसार अमेरिका र चीनबीचको प्रतिस्पर्धा अब प्रत्यक्ष सैन्य द्वन्द्वभन्दा बढी राजनीतिक,आर्थिक र संरचनागत हुनेछ । अमेरिकाले आफ्नो प्रभाव क्षेत्रलाई कडा बनाउँदै अघि बढ्ने संकेतछ । तर चीनले कूटनीति,आर्थिक सहकार्य र दीर्घकालीन रणनीतिमार्फत् अघि बढिरहने योजनालाई प्राथमिकता दिएको छ ।

चोङ योङनियानको निष्कर्ष छ—विश्व नयाँ शीतयुद्धतर्फ होइन,नयाँ किसिमको शक्ति व्यवस्थापन र प्रभाव क्षेत्रको पुनःपरिभाषातर्फ अग्रसर हुँदैछ । जहाँ चीन ‘सेपरेट किचन’ होइन, एउटै अन्तर्राष्ट्रिय संरचनाभित्र सन्तुलन खोज्ने रणनीतिमा देखिन्छ ।

टिप्पणीहरू