उड्नेहरु झन् असुरक्षित
हवाई यात्रुको सुरक्षालाई प्राथमिकतामा नराख्ने कम्पनीका कारण आकाश असुरक्षित बन्दै गएको छ ।
गत शुक्रबार दिउँसो भद्रपुर विमानस्थलमा बुद्ध एयरको ९०१ कलसाइन भएको जहाज धावनमार्गबाट उछिट्टिएर खेतबारीमा पुगेपछि यस्तो आशंका उब्जिएको हो । एटिआर ७२ जहाज ओभर रनका कारण टाढा पुगेको बताइए पनि यो बिल्कुलै टेक्निकल कमजोरी भएको बुझिन्छ । तालिम र ब्रिफिङको अभावका कारण ‘पाइलट फल्ट’ भएको विमानस्थलका कर्मचारीहरु बताउँछन् । हुस्सुका कारण नभई जहाजले जुन पिचमा छुनुपर्ने हो, त्यहाँ नभइकन अघि बढेपछि यस्तो समस्या आएको हो । चिप्लेको भए जहाज धावनमार्गबाट सोझै ३०० मीटर अघि नभई दायाँबाँयातर्फ जोतिन्थ्यो तर जहाज सोझै जोतिएको अवस्था छ ।
कम्पनीेको नेतृत्व व्यवस्थापन सुधारभन्दा बढी राजनीतिमा सक्रिय भएको, समयमै मर्मत सम्भारमा उचित ध्यान नदिएको र आउँदो वार्षिक साधारण सभामा सुविधा र प्रयोजनका लागि कम्पनीको रकम खर्चिएका कारण यस्तो समस्या देखिएको हुन सक्छ । केही दिनपछि हुने साधारणसभाको अडिट रिपोर्ट हेर्दा करिब १० करोडभन्दा बढी रकम अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत परिवारको सुविधाको लागि छुट्याइएको देखिन्छ । तलब, भत्ता र सवारीसाधन खरिदलगायत विभिन्न शीर्षकमा त्यस्तो रकम राखिएको छ । कम्पनीको साख बढाउन नयाँ जहाज खरिद, सेवा र क्षेत्र विस्तार गर्ने प्रस्ताव लत्याइएको गुनासो छ । बस्नेतले बुद्ध एयरको कमाइ राजनीतिमा लगाउन थालेको आरोप पनि लगाइएको छ ।
कार्यकारी अध्यक्ष बस्नेत प्रत्यक्ष र समानुपातिक उम्मेदवार कसलाई बनाउने भन्ने चासो र चिन्तामा देखिएका छन् । जसका कारण जहाज कम्पनीको व्यवस्थापन कमजोर हुन पुगेको छ । व्यवस्थापनले यस्तै लापरवाही देखाउँदै लैजाने हो भने भोलिका दिनमा पनि यस्तो दुर्घटना हुन सक्छ । बुद्ध एयरको जहाज उडाउने केही पाइलटले ड्रग सेवनको परीक्षण गरे ठहरै हुने अवस्था छ । सुरेन्द्रबहादुर बस्नेत नेतृत्वमा रहँदा कम्पनीको व्यवस्थापन कुशलतापूर्वक चलेको थियो ।
चार चालकदलका सदस्य, एक प्राविधिक र ५१ जना यात्रु गरी ५६ जना बोकेको विमान काठमाडौंबाट भद्रपुरका लागि शुक्रबार राति ८ बजेर २३ मीनेटमा उडेको थियो । भद्रपुर विमानस्थलमा ९ बजेर १० मीनेटमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा सहचालक सुशान्त श्रेष्ठसहित ७ जना घाइते भएका थिए । घाइतेहरू सामान्य उपचार गरी फर्के पनि सबैजसोले ज्यानको आशा मारेका थिए ।
(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू