प्रधानमन्त्रीलाई ओलीले तीन घण्टासम्म के के भने होलान् ?
प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान ११ बजेदेखि तीन घण्टा लामो भेटघाट भएको छ ।
नयाँ दिल्लीमा उपचार गराइरहेका प्रधानमन्त्री पति दुर्गा सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहिबार बिहान ११ बजे गुण्डुबाट बालुवाटार पुगेका ओलीले लामो संवाद गरेका हुन् ।
दुई जनाबीच साढे २ बजेसम्म एक्ला एक्लै कुराकानी भएको हो । यो वार्ताले फागुन २१ को निर्वाचन हुने नहुने भनेर देखिएको संशय र आशंकालाई कम गर्न मद्दत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए ।
उनका अनुसार ओलीले निर्वाचनमा कुनै बाधा नगर्ने वचन प्रधानमन्त्रीलाई दिएका छन् । ‘उहाँ (ओली) ले एमालेबाट निर्वाचनमा कुनै बाधा हुँदैन । ध्वंश पनि गर्दैन भनेर विश्वास दिलाउनु भएको छ’, रावलले अगाडि भने, ‘प्रधानमन्त्रीसँगको संवादमा ओलीले एमाले निर्वाचनमा सहभागी भएर स्वस्थ प्रतिस्पर्धा गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनु भएको छ ।’
प्रधानमन्त्री भएको दुई महिनापछि संवाद थालेकी कार्कीले ओलीसँग यसरी प्रत्यक्ष वार्ता गरेको यो तेस्रो पटक हो । यसअघि शीतल निवास र बालुवाटारमा संवाद गरिसकेकी छन् ।
टिप्पणीहरू