अब बालेन, प्रचण्ड र रविलाई पनि उठाएर लान दिने त !

अब बालेन, प्रचण्ड र रविलाई पनि उठाएर लान दिने त !

रुसले सन् २०२२ फेबु्रअरी २४ मा युक्रेनमाथि हमला गर्दा जोडजोडले बिरोध गर्ने एक छिमलका नेपाली बौद्धिक भेनेजुएलामा अमेरिकी हमला हुँदा मौन छन् । राष्ट्र प्रमुख आतंककारी शैलीमा अपरहण हुँदा कूटनीतिक मोर्चामा ठूलो स्वर उराल्नेहरू पनि चुपचाप छन् । मानौँ यो मौन अवधि हो । अमेरिकी राष्ट्रपति उम्मेदवार कमला ह्यासिरले गलत भनिसकिन्, हाम्रा बौद्धिकहरू गलत भन्दैनन् । न्युयोर्क टाइम्सले सम्पादकीय लेखेर गैरकानुनी भनिसक्यो । हाम्रा अखबारमा ठुल्ठूला भूराजनीतिक गफ दिने बौद्धिकको मौन धारणा जारी छ । 

कथाको अर्को पाटा पनि छ । युक्रेन हमला गर्दा रुस बालुवाटार घेर्न नगएकाहरू अहिले भेनेजुएलामाथि हमला हुँदा महाराजगञ्ज पुगिसकेका छन् । अमेरिकी सम्राज्यवाद मूर्दावाद भन्ने अहिलेका नाराहरू रुसी विस्तारवाद मूर्दावाद भन्न त्यो बेला सक्रिय भएनन् । नेपाल दुई कित्तामा देखियो । आममान्छे दुईतिर हुनु त ठीकै हो । तर, बौद्धिक फुर्को जोड्नेमा पनि यस्तो पक्षपाती चलन देखिएको छ । यो देश र लोकतन्त्रका लागि घातक कुरा हो । युक्रेन हमला जसरी सार्वभौम देशमाथिको हमला थियो, ठीक त्यसैगरी भेनेजुएलामा गरिएको हमला पनि त्यस्तै हमला हो । अझ भेनेजुएलामा अमेरिकी सर्वोच्च अदालतले दिएको फैसलादेखि विश्वव्यापी कूटनीतिक इम्युनिटीको खुराको खुला धज्जी उडाइएको छ । यो आफैँँमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन हो । अमेरिकाले पनि लागु औषध आतंककारी भनेर मदुरोलाई दानवीकरण त गर्‍यो तर विश्वले पत्याउने प्रमाण दिएको छैन । डोनाल्ड ट्रम्पले खुलेर भनिसके– हमला तेलको लागि हो । हमलाको सबै खर्चबर्च तेलको रकमले आउँछ । अमेरिकाले भेनेजुएलामा सत्ता चलाउने भनिसक्यो । यस्तो हुँदा पनि पुटिनलाई तानाशाह र रुसलाई विस्तारवादी भन्नेहरू बौद्धिक मौनव्रतमा छन् । 

सबैभन्दा ठूलो मौनव्रत त सरकारले लिएको छ । विभिन्न विश्व घटनामा आपत्ति जनाउने परराष्ट्र मन्त्रालयले कुनै विज्ञप्ति जारी गरेको छैन । सबैभन्दा रोचक कुरा त अहिले वामपन्थी कित्तालाई लागेको छ– अमेरिकाले भेनेजुएलाको एकीकृत समाजवादी पार्टीका सर्वोच्च नेतालाई अपहरण गरेर वामपन्थीलाई देखी सहेन । उनलाई लागेको छ यो वैचारिक हमला हो । सम्राज्यवादले समाजवादी सत्ता ढाल्न गरेको कुकर्म हो । कतिपय गैरवामपन्थी त सही गर्‍यो भनेर भजन गाइरहेका छन् । शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारको पदवी गुथेका अरुण सुवेदीले सार्वजनिक रूपमा अथाह खुशीयाली व्यक्त गरेका छन् । वामपन्थी घृणालाई बान्ता गर्ने एक घटना मानेका छन् ।

त्यही दिन नोरिएगालाई किन अपहरण गरियाे ? सद्दाम हुसेन वामपन्थी थिएनन् न त गद्दाफी नै कम्युनिष्ट थिए । 

तर यी दुवै कित्ताले बुझ्नुपर्ने कुरा हो– ट्रम्पको मदुरो अपहरण वामपन्थी सत्ता ढाल्न होइन । तेल कब्जा गर्न हो । ३ खर्ब व्यारेल तेल भएको भेनेजुएला तेलको १७ प्रतिशत भण्डारण लिएर बसेको छ । उत्पादन विश्वभरिकै उत्पादनको एक प्रतिशत हाराहारी मात्रै छ । अरबको तेल किन्न लामो दूरी हुने तर भेनेजुएलाको तेल कब्जा गरे दूरी पनि सस्तो हुने भएकोले ट्रम्पले लागु औषधको नाम दिएर हमला गरेका हुन् । त्यहाँ वामपन्थी मदुरो नभएर दक्षिणपन्थी मारिया कोरिना मचादो सत्ताधारी भएको भए पनि त्यही हुन्थ्यो । मचादो सन् २०२५ कि नोवेल शान्ति पुरस्कार बिजेता पनि हुन् । अरुण सुवेदीले बुझ्नुपर्छ, मदुरो वामपन्थी वा समाजवादी भएर मात्रै त्यस्तो तनाव झेल्नुपरेको भए ३६ वर्षअगाडि त्यही दिन अर्थात् जनवरी ३ मै पानामाका नेता म्यानुएल एन्तोनियो नोरिएगालाई पनि किन अपहरण ग¥यो ? नोरिगा त वामपन्थी थिएनन् । कम्युनिष्ट थिएनन् । समाजवादी कार्यक्रमका पक्षधर थिएनन् । सद्दाम हुसेन वामपन्थी थिएनन् न त गद्दाफी नै कम्युनिष्ट थिए । नेपालमा विचारको लेपन लगाएका तर्क आएता पनि कुरा विचारको होइन । धनको हो । प्राकृतिक स्रोत दोहनको हो । विदेशको खनिज, इन्धनमा प्रभुत्व बनाउने महाशक्ति देशको दादागिरी हो । 

जसरी डोनाल्ड ट्रम्पको इप्स्टिन फाइल्स् विषयान्तर गर्न भेनेजुएला हमलाको मिति जुराइयो, ठीक त्यसैगरी नेपालमा भेनेजुएलाको कुरा विषयान्तर गर्न कतिपय बुजु्रकले खिसिट्युरी गरेर भन्छन्, ‘बेला न कुबेला भेनेजुएला’ । तर यो नेपालको लागि गम्भीर मुद्दा हो । आज मदुरोलाई अमेरिकाले अपहरण गर्दा किन भारतले आपत्ति जनाए ? किन चीनले तत्काल कडाभन्दा कडा निन्दा गरेर गरेन ? नेपालजस्तो शक्तिहाली देशका बीचमा रहेको कमजोर राष्ट्रले यो घटनालाई ध्यानपूर्वक हेर्नुपर्छ । भारत र चीनको कुरा छोडौँ, आज युरोपेली संघ किन बोल्दैन ? संयुक्त राष्ट्रसंघ किन बलियो छैन? किनभने अहिले शक्ति राष्ट्रलाई सक्दा पेलपाल गर्न सकिने युगको सुरुवात भएको छ । बरु सोभियतकालमा ऊ पक्षधर देशमाथि अमेरिकी पक्षधर देशले सैन्य हमला गर्न डराउँथ्यो, अमेरिकी पक्षधर देशमा सोभियत कित्ताको हमला हुन डर हुन्थ्यो । अहिले त भटाभट हुन थालेको छ । 

अमेरिका र युरोपेली संघको पक्षधर युक्रेनमा रुसले गर्दा चीन तथा रुससँग निकट भेनेजुएलालाई हाकाहाकी अमेरिकाले हानेको छ । अमेरिकाले झोंक चलेजतिलाई चिलले चरा उठाएर लगेजस्तै लाने अवस्था आएको छ । उसो त अमेरिकाको राष्ट्रिय चरा चिल नै हो । अमेरिकाले चाहे चिलजस्तै हाम्रो देशका नेतालाई पनि उठाएर लान सक्ने रहेछ । माओवादी युद्धताका राज्य पक्षधर अपराधका नाममा देउवा र विद्रोही पक्ष तथा अमेरिकाले आतंककारी सूचीमा राखेका प्रचण्डलाई चाहे लान पनि कुनै जनवरी ३ कुर्नु परेन । अरु त अरु नयाँ अनुहारको रूपमा आएका बालेन्द्र साहलाई अस्ति अमेरिकालाई गरेको अश्लील गालीका नाममा लान सकिन्छ भने रविको त अमेरिकामा टन्न मुद्दा छन् । 

कुरा अमेरिकाको मात्रै होइन, भारत र चीनको पनि हो । भारतले आफ्नो भाष्यमा अपराधी करार गरेर कुनै न कुनै मुद्दामा सांसद, मन्त्री र प्रधानमन्त्रीलाई उठाई लगेमा विश्वको कुनै शक्तिले पनि नजोगाउने रहेछ । चीनले तिब्बती पृथकतावादी आन्दोलनको नाममा आएका अनुहार टपक्क टिपरे लगेमा पनि कसैले रोक्ने सामथ्र्य रहेनछ । न चाहियो सुपुर्दगी सन्धि, न चाहियो कुनै कानुनी आधार । पेलपाल गर्न सकिने आधार अमेरिकी दादागिरीले देखाएको छ । शक्ति राष्ट्रले चाहेमा अर्को शक्ति राष्ट्रको गुटमै भएपनि जतिसुकै बेला जमिन खोस्न सक्छ भन्ने उदाहरण हो युक्रेन । र, शक्ति राष्ट्रले मौखिक सहयोगको आश्वासन दिए पनि, अर्को राष्ट्रले राष्ट्र प्रमुखै उठाएर लगे पनि मौखिक विरोधभन्दा धेरै केही गर्न नसक्ने नजिर भेनेजुएला प्रकरणले देखाएको छ । 
 

टिप्पणीहरू