अन्धो प्रेममा फस्ने काम नगर है अवलाहरू

अन्धो प्रेममा फस्ने काम नगर है अवलाहरू
सुन्नुहोस्

प्रेम अन्धो हुन्छ त्यसै भनिएको होइन तर, अरुको जीवन र जवानीसँग खेलेर मान्छे कति दिन आनन्दित हुन सक्ला ? प्रेमले ऊर्जा दिनुपर्ने हो तर गलत मान्छेसँग निकटताका कारण आज अश्रुधारा चुहाएर बाँचिरहेको छु । 

पूर्वी नेपालमा जन्मिएँ, हुर्किएँ । सुनमा जन्मिएर हिरामा हुर्किएकी म आज काँडैकाँडाबीच बाँच्ने अभ्यास गरिरहेको छु । परिवारको कान्छी छोरी, लाडप्यारमा हुर्किएँ । बीचमा भेटिए, कुमार पुडासैनी । उनकै कारण फूलजस्तो मेरो जिन्दगी आज बगरझैँ उराठ बन्न पुगेको छ । उसको मामाघर झापा । त्यहीँ बसेर पढ्थ्यो । आठदेखि दश कक्षासम्म त्यही स्कूलमा पढ्यौँ । एसएलसी सकिएको केही समयपछि उसैले राख्यो प्रेम प्रस्ताव । भर्खर १७ वर्ष मात्र टेकेको थिएँ । निर्णय लिइहाल्ने क्षमता थिएन । यद्यपि, उसका आनीबानी, चालढाल, केयर गर्ने स्वभाव मन पथ्र्याे । झापाबाटै प्लस टु सकाएँ । उसले पार लाउन सकेन । दुई विषयमा अनुत्तीर्ण भयो । थप एक विषय लगाएर प्लस टु बल्ल तल्ल सक्यो । 

केही बन्ने, समाजलाई केही गरेर देखाउने सपना थियो तर कहाँ जान हिँडेकी म, घनघोर अन्धकारमा फसेँ । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं भित्रिएँ । अंकलको घरमा बसेर बिबिएस पढ्दै थिएँ । केही सातापछि ऊ पनि यतै आयो । भन्थ्यो, ‘तिमीबिना झापा उराठ लाग्यो । त्यता एक्लै बस्न सकिनँ । अब म पनि यतै पढ्छु, तिमीसँगै हुन्छु ।’ कलाकार बन्ने सपना बोकेर फिल्म स्टडिज पढ्न थाल्यो । आफूले हृदयदेखि माया गरेको मान्छे यही शहरमा, आफ्नै छेउमा हुँदा को खुशी नहोला ! भेटघाट बाक्लिँदै गयो ।

स्नातक तह प्रथम वर्षको परीक्षा दिइसक्दा उसैले विवाहको प्रस्ताव राख्यो । अवगुण केही देखिनँ । औधी गाँजा सेवन गर्दाेरहेछ, थाहै भएन । सोचेकी थिएँ, प्रेमले हरेक चिज जित्छ, प्रेममा पत्थरलाई पनि पगाल्न सक्ने क्षमता हुन्छ । मेरो पवित्र प्रेमले गाँजाको लतबाट छुटाउनेछ भन्ने लाग्यो । तर, अरुलाई बदल्छु भनेर नहुनेरहेछ, आफैँ बदलिनुपर्ने रहेछ मान्छे ।

पर हुन नसक्ने तिनै पात्रलाई जब मैले आफू दुई जिउको भएको सुनाएँ । त्यहीपछि फेरियो उसको स्वभाव र मप्रति गर्ने व्यवहार । 

स्नातक तह दोस्रो वर्ष शुरु हुँदा नहुँदै बुबा–आमा पनि काठमाडौँमै बस्न थाल्नुभयो । हाम्रो सम्बन्धबारे थाहा नहुने कुरै भएन, थाहा पाउनुभयो । तर, हाम्रो सम्बन्ध मन परेको थिएन । अरु नै केटासँग विवाह गराइदिन खोजेपछि विद्रोह गरँे । जसले जन्माए, हुर्काए, पढाए, बढाए उनीहरूसँग एउटा नाथे केटाका लागि विद्रोह गरेर घर छाडेँ । चार वर्षको प्रेम सम्बन्धलाई मूर्तरुप दिन भागेर ऊसँग विवाह गरेँ । त्यो समय लाग्थ्यो, जीवनमा सबैभन्दा ठूलो कुरा केही छ भने त्यो हो प्रेम । मैले आफ्नो प्रेमलाई न्याय गरेँ । विवाहपछि उसको घर मोरङ गयौँ । सासू–ससुरा आँखामा राख्दासमेत नबिझाउने खाले हुनुहुन्थ्यो । लाग्थ्यो– जीवनमा आफूले माया गरेको मान्छे पाएँ, जीवन पूर्ण भयो । 

०७८ साल वैशाखमा बुबा–आमाले हाम्रो प्रेम अर्थात् विवाहलाई स्वीकार गर्नुभयो । काठमाडौँ बोलाउनुभयो र घरमा टीकोटालो गर्‍यौँँ । तर, छोटो हुँदोरहेछ खुशीको आयु । म झापाकै एउटा सरकारी विद्यालयमा पढाउन थालेँ भने ऊ फिल्म मेकिङ पढिरहेको थियो, काठमाडौंमा । तलब जति बुझ्थेँ, केही पकेट मनी राखेर सबै उसैलाई पठाउँथेँ । केही समयपछि ऊ पनि झापा नै आयो । भन्थ्यो– तिमी काठमाडौँ हुँदा काठमाडौंमै बस्न मन लाग्छ, झापा हुँदा झापा नै ! तिमीबाट एक पल पनि टाढा भएर बस्न सक्दिनँ । यसरी कहिल्यै पर हुन नसक्ने तिनै पात्रलाई जब मैले आफू दुई जिउको भएको सुनाएँ । त्यहीपछि फेरियो उसको स्वभाव र मप्रति गर्ने व्यवहार । उसले तत्कालै बच्चा चाहिँदैन, फालौं भन्यो, मैले मानिनँ । 

अब म काठमाडौं आउँदा ऊ झापा र म झापा हुँदा ऊ काठमाडौं जान थाल्यो । एक पटक हामी दुबै काठमाडौंमा हुँदा उसले मलाई पिट्न थाल्यो । पेटमा उसको लात्ती बज्रन थाल्यो । म कोठामा रुन थालेँ, चिच्याउन थालेँ, योबाहेक अरु केही विकल्प रहेन । मलाई जे भए पनि पेटमा हुर्कंदै गरेको बच्चामाथि केही नहोस् भन्ने चाहना थियो । पेटमा बच्चा आएपछि मेरो बुवा–आमालाई समेत हातपात गर्न खोजेको रहेछ । तेरी छोरीले गर्दा जीवन बर्बाद भयो भनेर उसले हात उठाएको भए पनि बुवा आमाले ज्वाइँ हो भनेर चुपचाप सहनुभएछ । मेरो शरीरमा उसको लात्ती कति बर्सिए त्यसको केही हिसाब छैन । बरु लात्ती र हातको चोट सहन सक्छ मान्छे, त्योभन्दा कठिन हुँदो रहेछ सहन वचन वाण ।

बाहिर लागेका घाउ औषधिमूलो गरेपछि निको हुँदो हो तर बचनको घाउ बिसेक नहुँदो रहेछ हतपत्त । त्यो निर्दाेष बच्चाको बाबु म होइन भन्थ्यो कहिले कुन केटासँग जोड्थ्यो, कहिले कुन केटासँग । अरु सबै सहेकै थिएँ, नखाएकै विष, चरित्रमाथि प्रश्न उठाएपछि सहन सकिनँ । बुवा–आमासँग दुःख बेसाउनुको कुनै अर्थ थिएन । सात महिनापछि स्वास्थ्य परीक्षणका लागि थापाथली प्रसूतिगृहमा पुगेकी थिएँ । ऊ पनि त्यहीँ आयो । दिदीहरूकै अगाडि हातपात गर्‍यो । कसैलाई प्रेम गरेर मैले जीवनमा सबैभन्दा ठूलो गल्ती गरेछु । त्यो दिन घरमा आएर दिनभर रोएँ, रातभर रोएँ । रुँदा रुँदा आँखाबाट आँशु आउनै छाडिसकेको थियो ।

बीचमा आत्महत्याको प्रयास पनि नगरेको होइन तर पेटमा हुर्कंदै गरेको बच्चालाई सम्झिएँ, अस्पतालमा मेरो छोरा भयो । त्यस दिन ऊ पनि आएको थियो । त्यसपछि भेटघाट भएको छैन । अहिले काखे छोरालाई च्यापेर शिक्षण पेशा अँगालिरहेको छु । छोराको भविष्यका लागि ऊसँग सम्बन्धविच्छेदको मुद्दा चलिरहेको छ, झापा जिल्ला अदालतमा । अहिले पछुताउँछु, थक्थकाउँछु बुवा–आमाले भनेको मानिदिएको भए, आज यो हविगत हुने थिएन । यद्यपि, हिम्मत हारेकी छैन । एक दिन मेरो आँशुले पोल्नेछ, नराम्रोसँग । हिजो गाँजा मात्र सेवन गर्ने ऊ आज ड्रग्समा डुबिरहेको छ । अरुलाई रुवाएर, पीडा दिएर कतिञ्जेल खुशी हुन सक्छ मान्छे ?

– पीडित नेहा कट्टेल
 

टिप्पणीहरू