हाकिम र पिएनले मिलेर घुस खाएको ठहर
घुससहित समातिएका नापी कार्यालय पर्साका सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले गत मंसिर २ गते उनीहरूलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
वीरगञ्ज महानगरपालिका–२५ स्थित कित्ता नम्बर ५५ क्षेत्रफल ०,००६४ वर्गमिटर जग्गा छुटमा दर्ता गराउन सहजीकरण गरिदिने भन्दै राउत र उपाध्यायले सेवाग्राहीसँग घुस लिएको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ ।
अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम एक लाख रुपैयाँ बिगो कायम गर्दै उनीहरूलाई कैद र जरिवानाको सजाय माग गरिएको छ ।
टिप्पणीहरू