एनपीएलको उपाधि भिडन्त आज, सुदूरपश्चिम र लुम्बिनी भिड्दै
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधिको लागि आज साविक विजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो ३:३० बजे शुरू हुनेछ ।
लुम्बिनी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र सुदूरपश्चिममा राष्ट्रिय टोलीका उप-कप्तान दीपेन्द्र सिंह एरीको कप्तानीमा मैदान उत्रिनेछ । दुवै टोली आजको खेल जित्दै उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छन् । साविक विजेता जनकपुर बोल्ट्स लिगचरणबाटै बाहिरिएपछि आज एनपीएलले नयाँ विजेता पाउने निश्चितनै छ । गत संस्करण सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग फाइनलमा ५ विकेटले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।
दुवै टोली फाइनल अगाडि उत्कृष्ट लयमा रहेका छन् । सुदूरपश्चिमले प्रतियोगितामा एकमात्र हार बेहोरेको छ भने लुम्बिनीले पछिल्लो पाँच खेलमा सतप्रतिशत जित निकालेको छ । सुदूरपश्चिम लिगचरणको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने लुम्बिनीले चौथो स्थानमा रहँदै इलिमिनेटरमा स्थान बनाएको थियो । फाइनलमा पुग्न दुवै टोलीले विराटनगर किंग्सलाईनै पराजित गरेका हुन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो सिजन फाइनलमा स्थान सुरक्षित बनाउँदा लुम्बिनीले ४० रनको जित हासिल गरेको थियो । सुदूरपश्चिमले जारी सिजन एकमात्र हार बेहोर्दा लुम्बिनीले तीन खेल विपक्षीलाई सुम्पिएको छ ।
दुवै टोलीका कप्तानले उपाधि जित्नेमा विश्वस्त रहेको बताएका छन् । सुदूरपश्चिमका कप्तान एरीले गत वर्षको फाइनलमा पराजित भएपनि यसपटक कमि कमजोरी सुधार गर्दै च्याम्पियन बन्ने बताएका छन् भने लुम्बिनीका कप्तान पौडेलले आफूहरु च्याम्पियन बन्न सबै पक्षबाट तयार रहेको दाबि गरेका छन् । एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ, उपविजेताले ५१ लाख रुपियाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तो छ सुदूरपश्चिमको यस सिजनको नतिजा
पहिलो खेल : काठमाडौं गोर्खाजमाथि २९ रनले विजयी
दोस्रो खेल : पोखरा एभेन्जर्समाथि १८ रनले विजयी
तेस्रो खेल : कर्णाली याक्समाथि ४५ रनले विजयी
चौथो खेल : लुम्बिनी लायन्समाथि ७ विकेटले विजयी
पाँचौ खेल : जनकपुर बोल्ट्समाथि ६ विकेटले विजयी
छैटौं खेल : चितवन राइनोजमाथि ४९ रनले विजयी
सातौँ खेल : विराटनगर किंग्ससँग ६ विकेटले पराजित
पहिलो क्वालिफायर : विराटनगर किंग्समाथि ७७ रनले विजयी
यस्तो छ लुम्बिनीको यस सिजनको नतिजा
पहिलो खेल : चितवन राइनोजमाथि ६ विकेटले विजयी
दोस्रो खेल : कर्णाली याक्ससँग ९ विकेटले पराजित
तेस्रो खेल : काठमाडौं गोर्खाजसँग २२ रनले पराजित
चौथो खेल : सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित
पाँचौ खेल : पोखरा एभेन्जर्समाथि ३ विकेटले विजयी
छैटौँ खेल : विराटनगर किंग्समाथि ५ विकेटले विजयी
सातौँ खेल : जनकपुर बोल्ट्समाथि ४ विकेटले विजयी
इलिमिनेटर : काठमाडौं गोर्खाजमाथि ४ विकेटले विजयी
दोस्रो क्वालिफायर : विराटनगर किंग्समाथि ४० रनले विजयी
हेड टु हेड
हेड टु हेडमा हेर्ने हो भने लुम्बिनीमाथि सुदूरपश्चिम हाबी देखिएको छ । दुई सिजनमा दुई पटक भेट हुँदा दुवै खेल सुदूरपश्चिमले आफ्नो पोल्टामा पार्न सफल भएको छ । गत सिजन सुदूरपश्चिमले लिग चरणमा लुम्बिनीलाई ४५ रनले पराजित गरेको थियो भने यस सिजनपनि सोहि लयलाई निरन्तरता दिँदै ७ विकेटको जित निकालेको थियो ।
त्यसैले सुदूरपश्चिम फाइनलमा पनि सोहि लयलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ भने लुम्बिनी बदला लिँदै उपाधि कब्जा गर्ने दाउमा छ । लुम्बिनी फेरी एकपटक सुदूरपश्चिमलाई फाइनल स्तब्ध बनाउने लक्ष्यमा हुनेछ ।
प्लेयर टु वाच
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमले उपाधि जित्नको लागि आजको खेलमा कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह एरीको प्रदर्शन मुख्य बन्न सक्छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीन वटै पक्षमा अब्बल दीपेन्द्र आज लुम्बिनीको लागि टाउको दुखाइ बन्न सक्ने खेलाडी हुन् । ८ खेलमा १ सय ४९ रन बनाएका दीपेन्द्रले आठ विकेट लिएका छन् । यस्तै उनी प्रतियोगितामा सर्वाधिक क्याच लिनेमा दोस्रो स्थानमा रहेका छन् । उनले आठ खेलमा १० क्याच लिएका छन् । उनी भन्दा अगाडि विराटनगरका साम हेजलेटले ११ क्याच लिएका छन् ।
उनीसँगै ओपनर विनोद भण्डारी र अविनाश बोहोराको प्रदर्शन आज महत्त्वपूर्ण रहनेछ । विनोद सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रो स्थानमा रहेका छन् भने अविनाश सर्वाधिक विकेट लिने खेलाडीको सूचीको दोस्रोनै स्थानमा छन् । विनोदले ८ खेलमा दुई अर्धसतकसहित २ सय ६४ रन बनाएका छन् । उनी भन्दा अगाडि पोखराका एडम रोसिङटनले ३ सय २३ रन बनाएका छन् ।
अविनाशले आठ खेलमा २५.१ ओभर बलिङ गर्दै १२.१२ को औसतमा १६ विकेट लिएका छन् । उनी भन्दा अगाडि सन्दीप लामिछानेले १७ विकेट लिएका छन् ।
लुम्बिनी लायन्स
लुम्बिनीका कप्तान रोहित पौडेल टोलीबाट सबैभन्दा फर्ममा रहेका खेलाडी हुन् । उनले १० खेलमा २ सय ७० रन बनाएका छन् । गत सिजनपनि राम्रो प्रदर्शन गरेपनि टोलीलाई प्लेअफमा डोर्याउन नसकेका रोहितको प्रदर्शन आज लुम्बिनीको लागि महत्त्वपूर्ण बन्न सक्छ । ब्याटबाटमात्र नभई बलिङबाटपनि उनले टोलीलाई उतिकै योगदान दिन सक्छन् । उनले जारी प्रतियोगितामा मात्र ९ ओभर बलिङ गर्दै ७ विकेट लिएका छन् । उनीसँगै डार्सी शर्ट आजको खेलमा प्रभाव छोड्न सक्ने खेलाडी हुन् । उनले ९ खेलमा एक अर्धसतक सहित २ सय ४२ रन बनाएका छन् ।
बलिङतर्फ लुम्बिनीका शेर मल्ल उत्कृष्ट लयमा रहेका छन् । ९ खेलबाट १४ विकेट लिएका मल्ल सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा रहेका छन् । यस्तै रुबिन ट्रम्पेम्यानले आफ्नो पेस देखाउँदै आज सुदूरपश्चिमलाई दुख दिन सक्छन् । उनले १२ विकेट लिइसकेका छन् ।
टिप्पणीहरू