एनपीएलका चौकाबापत एनसेलले २४ सय बढी शैक्षिक सामग्री बाँड्दै
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा हानिएका चौकाबापत एनसेल फाउन्डेसनले २४ सय बढी शैक्षिक सामग्री बाँड्ने भएको छ ।
क्रिकेटलाई कक्षाकोठा र हरेक चौकालाई उज्जवल भविष्यसँग जोड्ने सामाजिक पहलअनुरुप यी सामाग्री सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने एनसेलले जनाएको छ ।
गत मंसिर १ गतेदेखि २७ गतेसम्म चलेको एनपीएल सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको थियो । खेलका दौरान ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए ।
यसबाट दुई हजार चार सय २८ वटा शैक्षिक सामग्री वितरणको सुनिश्चिता भएको एनसेलले जनाएको छ । एनसेलका अनुसार विद्यार्थीलाई दिइने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेशनरी सामग्री समावेश हुनेछ ।
यसले विद्यार्थीको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने विश्वास लिइएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले यो सामाजिक पहलमा योगदान पुर्याएकोमा खेलाडीहरुलाई धन्यवाद दिएकी छन् ।

उनले भनिन्, ‘उहाँहरुको प्रदर्शनले मैदानमा आफ्ना टिमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग पुर्याएको छ ।’ यो वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको थियो ।
कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो ।
साथै, खेलका क्रममा सर्वाधिक चौका प्रहार गर्ने पोखरा एभेन्जर्सका एडम रोसिङ्टनलाई दुई लाख रुपैयाँ नगद पुरस्कार दिइएको हो ।
गत वर्ष एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६ सय ५३ चौकाबाट फाउन्डेसनले दुई हजार ६ सय १२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गरेको थियो ।
टिप्पणीहरू