जेल पर्ने सबै अपराधी हुँदैनन्

जेल पर्ने सबै अपराधी हुँदैनन्
सुन्नुहोस्

के जेल पर्दैमा सबै अपराधी नै हुन्छन् ? अहिले देशका ७५ कारागारमा २९ हजार ४ सय ८४ कैदीबन्दी छन् । त्यहाँ पुगेका सबै अपराधी नै होलान् कि म झैँ बेकसुरलाई थुनिएको होला ? प्रहरी र प्रशासनको आड हुनेहरूले जसलाई पनि जेलको छिँडीमा पुर्‍याउन सक्दा रहेछन् । जागिर लगाइदिन्छु भन्दै मसँग ६० हजार लिनेले प्रहरी र प्रशासनको आडमा उल्टै मलाई ठगी मुद्दा हालेर कैद गरेको पीडा हो यो । 

नखाएको विष लागेर ६ महिना कैद भोगेको पीडित हुँ । जेलबाट बाहिरिएपछि यस्तै निर्दाेषहरूको हितमा काम गर्दै आएको छु । म विवेक कलवार । जन्मिएँ मधेश प्रदेशको जिल्ला पर्सामा । दिदी र भाइ बीचको म । आयस्रोतको माध्यम खेतीपाती मात्र । पछि वीरगञ्ज बसाइँ सर्‍यौँ र किराना पसल चलाउन थाल्यौँ । ०६८ सालमा एसएलसी पास गरेँ दोश्रो श्रेणीमा र उच्च शिक्षा अध्ययनका लागि भर्ना भएँ ज्ञानबाटिका कलेजमा ।

फरक ढंगले केही गरौँ भन्ने सोच थियो सानैदेखि । १८ वर्षको उमेर, पढ्दै थिएँ प्लस टु, शुरु गरियो मोटर पार्टसको  बिजनेस ५ लाख लगानीमा । यही बीचमा बुवालाई सुगर र पेङक्रियाजले सतायो । डाक्टरकहाँ धाइयो । तिनले बाँच्ने अवस्था छैन भन्दै निराश पारे । बुवालाई लिएर दिल्ली, भेलोरका अस्पताल चहारियो । घर व्यवहार चलाउने जिम्मेवारी आफ्नै काँधमा आइलाग्यो । पाटर्नरसिपको सम्बन्ध दिगो जान सकेन, आफू गोरुझैं जोतिने, पार्टनर नाफा मात्र लिन आउने भएपछि पाँच लाख लगानी डुब्यो ।

जिन्दगी प्रयोगको पाठशाला हो । त्यहाँबाट सिफ्ट भएर कम्प्युटर पार्टसको व्यवसायमा जोडिएँ । एक जना पाटर्नरसँग सम्बन्ध तोडेर अर्कोसँग जोडिएँ । व्यवसाय राम्रै चल्दै थियो । दुई वर्षपछाडि पाटर्नरले नै छुट्टिने इच्छा राख्यो । समय र परिस्थितिले एउटा कामबाट हात झिकेर अर्को–अर्काे व्यवसायमा जोडिँदै गएँ । सफलता र असफलता भोग्दै रहेँ । मोटरसाइकल पार्टस, कम्प्युटर हुँदै अब जिउने आधार बन्न थाल्यो डेरी व्यवसाय । यो पनि टिकेन र शुरु गरेँ रेडिमेड होलसेल पसल । झण्डै १० लाख लगानीमा शुरु गरिएको थियो उक्त व्यवसाय । सबैतिरबाट खोक्रो भइसकेको अवस्था थियो त्यो । भन्छन् नि अभाव नै बाध्यता हो । अभावको जंगे पहाड बीचमा थिएँ । यहीबीचमा एक जना आयो र प्रस्ताव राख्यो, ‘तिम्रो भाइलाई राम्रो कम्पनीमा जागिर खुवाउँछु ।’

आर्थिक अभाव र तनावका बीच घेरिएको मैले त्यो प्रस्ताव स्विकारेँ । रामै्र तलब आउँछ भनिएका कारण नाइँ भन्न सकिन तर पैसाभन्दा पनि ठूलो कुरा जागिर पाउनु नै थियो । पैसा त हातमा एकछिन आउँछ र जान्छ । हातको मैला हो पैसा तर जागिर त सदाका लागि रहन्छ । यही सोचेको थिएँ । त्यो मान्छेका प्रस्ताव थपिँदै गए । अर्को भेटमा उसले भाइका बेरोजगार साथीहरू कति छन्, ती सबैलाई ल्याउनु भन्न थाले । भाइले भर्खर विज्ञान संकायमा आइएस्सी सकेको थियो । बिएस्सी पढ्न सक्ने स्थिति थिएन । भाइलाई नै काम मिल्ला कि नमिल्ला भन्ने मनमा आशंका उब्जिँदा यो अफर त झनै अकल्पनीय नै थियो । सबै जनाले रोजगारी पाए भने अरू के नै चाहियो र ! त्यसपछि ऊसँग झनै हिमचिम बढ्न थाल्यो ।आफूलाई कम्पनीको म्यानेजर बताउने उसले केही दिनपछाडि अर्को प्रस्ताव राख्यो– प्रतिव्यक्ति दुई लाख जम्मा गर्नुपर्ने । 

जब मान्छे विवशताको माखेसाङ्लोमा जेलिन्छ नि, त्यतिखेर उसले दायाँबायाँ केही नहेर्दो रहेछ । ऋणबाट कसरी उकासिने भन्ने चिन्ता थियो । भाइले जागिर पाएमा राम्रै होला कि भन्ने लाग्यो र दायाँ–बायाँ नहेरी ६० हजार बुझाएँ । पैसा लिएको महिना बित्यो, जागिर पाउने कुनै छेकछन्द आएन । दिन, हप्ता, महिना हुँदै ठ्याक्कै एक वर्ष बित्यो । न दिएको पैसा फिर्ता पाइयो, न त भाइले जागिर नै ! सोधखोज गर्दै जाँदा थाहा पाइयो त्यो मान्छे कम्पनीको कुनै आधिकारिक व्यक्ति नै रहेनछ ।

उसले जागिर लगाउनु त कता हो कता उल्टै ममाथि ठगी मुद्दा प्रहरीमा दर्ज गराएको रहेछ । उल्टो आफैं पीडित बनेर । खाएको विष लागेको भए त सहन सकिन्थ्यो तर नखाएको विष लाग्यो । आफू जिएम नभएको, बरु रोजगारीको पर्खाइमा रहेको र उल्टै आफ्नो पैसा उसले खाएको प्रहरीलाई बताएँ । उनीहरूसँग अनुनय–विनय गरेँ तर केही सीप लागेन । उल्टै हकारे । पीडित नै जेल जानुपर्ने ? कस्तो कानुन ? कस्तो न्याय ? जिन्दगीमा कहिल्यै बिर्सन सक्दिनँ त्यो कालो रात ८ चैत्र ०७६ । 

६ महिना कालकोठरीमा बिताएँ । त्यो अवधिमा थाहा पाएँ– आफन्त को–को रहेछन् ? किनकि जीवनमा सुखको प्याला पिउन त पराइहरूले पनि साथ दिन्छन् तर दुःख, अभाव र तनावमा साथ दिने मात्र आफन्त हुन् । ममाथि यति ठूलो अन्याय–अत्याचार हुँदा साथीभाइ, आफन्त कसैले सम्झेनन् परिवारबाहेक । मैले कमाएको साथी कोही रहेनछ । आफैँलाई धिक्कारेँ । 

भाइ बिहान–बेलुकै भेट्न आउँथ्यो तैपनि मन खुशी हुँदैनथ्यो । ६ महिना जेलमा बसेपछि दुई लाख २२ हजार पाँच सय जरिवाना तिरेर निस्किएँ । यसरी मलाई फसाउने व्यक्ति सरकारी स्कुलको अध्यापक हुन् । जब जेलबाट छुटेँ, त्यसपछि भोगेको मानसिक यातनाको वर्णन गर्न सक्दिनँ । 

समाजले अपराधी छुट्यो रे भन्दै कुरा काट्न थाल्यो । मेरो कारण घरपरिवारले निकै सास्ती खेप्नुपर्‍यो । भाइको पढाइ बर्बाद भयो । परिवारको हात–मुख जोर्ने एउटै बाटो थियो पसल । त्यो पनि ६ महिनासम्म बन्द रह्यो । र, बल्ल थाहा पाएँ कि सबै जना दोषी वा अपराधी भएर जेलमा गएका नहुँदा रहेछन् । जेलबाट छुटेपछि व्यवसायमा लाग्न त्यति जाँगर चलेन तर व्यवसायबाट सदाका लागि टाढा रहन सक्ने अवस्था पनि थिएन । जेलबाट छुटेपछि लाग्यो– आफूजस्तै निर्दोष भएर जेल जानेहरूको उद्धार कार्यमा जुट्नुपर्छ । हुन त यसअघि वर्तमान उपसभामुख इन्दिरा रानाले पनि जेल परेका कैदी बच्चाका शिक्षा–दीक्षाको काम गरेकी हुन् । 

यो बीचमा हाम्रो संस्थाले २ सयभन्दा बढी कैदीलाई धरौटी तिरेर जेलबाट निकाली पुनर्जीवन दिइसकेको छ । विगतमा उल्टै मविरुद्ध छलछाम गरी ठगी मुद्दा हाल्नेसँग कुनै बदला लिनु छैन । बस्, आफैं बदलेर ती र त्यस्ता समाजका भाइरसलाई केही गरी देखाउने प्रण लिएको छु । यही संकल्पसाथ कैदीबन्दीको हितमा समर्पित गराउनेछु बाँकी जीवन ।
 

टिप्पणीहरू