पतिलाई भर्याङ मात्र नबनाउनु न प्रिया !

श्रीमानभन्दा श्रीमती पद र प्रतिष्ठाको हिसाबले अगाडि हुँदा धेरैका घरबार भत्किए । हालैमात्र एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धमा पूर्णविराम लागेको छ । यस्तै नेपाल सरकारको विशिष्ठ श्रेणी सचिव बनेर रेकर्ड ब्रेक गराउन सफल महिला पात्रकै घरबार यसैगरी भत्कियो । गायन क्षेत्रमा उदाउँदै गर्दा अञ्जु पन्त र मनोज सेवाबीचको सम्बन्धमा फाटो आयो । यी र यस्ता प्रशस्त उदाहरण छन्, श्रीमतीले नाम र दाम कमाउन थालेपछि श्रीमानसँगको सम्बन्धमा फाटो देखिने गरेका । सेलिब्रेटीको घर बार बिग्रिएका खबरहरु छापिन्छन् मिडियामा तर सर्वसाधारणका यसैगरी हजारौं घर भत्किएका छन् । आफूले खाई नखाई पढाए र नर्स बनाएकी पात्रले । खोला तरेर लौरो बिर्सेपछि रुँदै गरेको पुरुषको कथा हो यो ।
जुन दिनदेखि श्रीमतिले जागिर खान थालिन् त्यहींबाट शुरु भयो मेरो तनाव । जहानलाई स्टाफ नर्स पढाउन र योग्य बनाउन केमात्र गरिन ? उनका इच्छा-चाहना, रहर र सपना पूरा गर्न आफ्नो सपनालाई तिलाञ्जली दिएँ । पुगेँ गढुवाल, हिमाञ्चलदेखि कतारसम्म । बेल्चा र साबेल चलाएँ । पसिना होइन, रगत बगाएँ । जति कमाएँ, उनैमाथि खन्याएँ । जब सारा इच्छा र चाहना पूरा भए, तब मलाई किनारैमा छाडेर खोला तरिन् । अहिले उनीसँग सबथोक छ । म रित्तो छु ।
अभाव र तनावमा गुज्रियो बालापन । कष्टै कष्ट र दुखै दुखको भवसागरमा । खेतीपातीबाहेक अरु थिएन आम्दानीको स्रोत । सार्वजनिक विदाका दिन, दिनभरजसो अनि विद्यालय खुलेका दिन बिहानभरि साहुहरुको खेतमा हलो जोतेर दिउँसो स्कूल पढ्न जान्थें । त्यही निमेकका भरमा परिवारको पेट पाल्नुपर्दथ्यो/पालिन्थ्यो । बाल्यकालदेखि दुःखको भुमरीमा डुबियो । गिट्टी, बालुवा, ढुङ्गा, माटो गरेर पढाई खर्च जुटाइन्थ्यो । बुवा-आमाको कोखबाट जन्मिएका पाँच सन्तानमध्ये जेठो म । खाने मुख तीनबाट बढेर ८ पुगे । जग्गा जमिनको आकार सीमित, खाने मुख भने बढेको बढ्यै ।
मेरै आड भरोसामा पढिन् । नर्स बनिन्, जागिर खाइन् मलाई गन्न छाडिन् । यही माघमा मात्र अष्ट्रेलियाको पिआरवालालाई रोजेर इन्गेजमेन्ट गरेको भेटियो । एक जना मान्छेको इन्गेजमेन्ट जीवनमा कति चोटी हुन्छ ?
नुवाकोट जिल्ला कुनै समय अर्जुननरसिंह केसीको चुनावी पकड र काँग्रेसको गढ भएको ठाउँ । पछि काँग्रेस होइन, माओवादीतिर लागियो । शिक्षकहरु अधिकांश काँग्रेसी । माओवादीमा लागेकै कारण नौ कक्षा पढ्दै गर्दा ४ विषयमा फेल गराइदिए । त्यही कारण छाडें, स्कूल । र, भासिएँ हिमाचलतिर । सुरुङ्गमा काम गर्दागर्दै गहिरो चोट लाग्यो । अस्पतालको शैयामा पुगेपछि नर्सहरुको सेवाबाट प्रभावित भएँ । लाग्थ्यो सकेसम्म आफैं सरकारी सेवामा लाग्छु, नभए घरपरिवार वा जहानलाई सरकारी कर्मचारी बनाउँछु । त्यही घिड्घिडोले अहिले मेरो जीवन यसरी बर्बाद हुँदै छ । अहिले पछुताउँछु– मेरो सपना र कल्पना गलत रहेछ । उपचारपछि केही तँग्रिएँ । सुरुङ्गमा काम गर्न सक्ने स्थिति रहेन । त्यहाँबाट दिल्ली पुगेर सेक्युरिटी गार्डको काम गरेँ । तर, आम्दानी सन्तोषजनक थिएन ।
कहाँको सपना बोकेर हिँडेको मान्छे, कहाँ रुमल्लिरहेको थिएँ । कुकुरले पनि गल्ली गल्लीमा घुमेर आफ्नो ज्यान त पालेकै छ । त्यही ज्यान पाल्नेबाहेक अरु केही भएन । घर फर्किएँ, मंहङ्गो व्याजमा ऋृण काढेर कतार पुगेँ । परिवार पाल्नु थियो । विवाह गर्नु थियो । आफू सरकारी सेवामा लाग्न सकिएन, भाइ बहिनीलाई सरकारी सेवामा लगाउन सकिन्छ कि भन्ने ध्येय थियो । त्यही आर्जित रकमले ४ दिदी बहिनीको बिवाहवारी सम्पन्न भयो । र, बीचमा फर्किएँ आफ्नै देश । धेरैको नजरमा लाहुरे थिएँ । यस्तैमा आफन्ती मार्फत विवाहको प्रस्ताव आयो । स्वीकारें । भर्खर एसएलसी परीक्षा उत्तिर्ण गरेकी रुपा मुडभरीसँग वैवाहिक बन्धनमा बाँधिएँ ०७७ साल वैशाख २६ गते उनको सिउँदोमा सिन्दुर भरेँ । एक जुनी होइन सातै जुनी सँगै मर्ने सँगै बाच्ने कसम खाएँ । तर त्यो बाचा र कसम सात वर्ष पनि टिकेन ।
मनमा सपना थियो जहानलाई नर्स बनाउने । त्यही सपना पूरा गर्नका लागि पुनः खाडीतिर लागेँ । विवाह गरेको चार महिनामै कतार गएँ । पचास डिग्रीको गर्मीमा रातदिन रगत पसिना बगाएर श्रीमतीलाई स्टाफ नर्स बनाउन चाहन्थें । आफ्नो सपना पूरा गर्नका लागि बूढा भएका बुवा आमाको वास्ता गरिएन । श्रीमतीलाई च्यापेर काठमाडौं ल्याएँ । उनकै दाजुको साथमा बस्थिन्, बालाजुतिर । अनेक जोडबलबाट पिसिएल नर्सिङमा भर्ना गरें । तीन वर्षे पिसिएल सकिए सँगै गाउँकै एक जना दाजु वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो, उहाँलाई आग्रह गरेर करारमा जागिर लगाएँ । अब खुशीको दिन फर्कियो, श्रीमतीलाई लोकसेवा भिड्न लगाएर स्थायी सरकारी जागिर दिलाउँछु भन्ने कल्पना र सपनामा डुब्दै थिएँ ।
विवाहदेखि पिसिएल नर्सिङ्ग अध्ययनरत रहँदासम्मको स्थिति यस्तो थियो कि घण्टैपिच्छे च्याटमा गफिन्थ्यौं । उनको फेसबुक, इन्स्ट्रादेखि टिकटकमा हाम्रो संयुक्त फोटो गायब भई एकल फोटो मात्र पोष्ट भएसँगै मनमा चिसो त पसेको हो । उनले आफू अविवाहित भएको बताएर सामाजिक सञ्जालबाटै अष्ट्रेलियाको पिआरवालालाई पट्याएकी रहिछन् । जब श्रीमान श्रीमतीको बीचमा तेश्रो मान्छे हावी हुन थाल्यो त्यस पछि उनलाई मेरो फोन उठाउन, म्यासेजको रिप्लाई गर्नसमेत मुस्किल पर्ने गथ्र्याे । यो थाहा पाउन पनि मलाई तीन बर्ष कुर्नुपर्यो । उनलाई मेरो त्याग, समर्पण र प्रेमभन्दा पनि अष्ट्रेलियातिरको पिआरवाला पो प्यारो लाग्न थालेछ । मेरै आड भरोसामा पढिन् । नर्स बनिन्, जागिर खाइन् मलाई गन्न छाडिन् । यही माघमा मात्र अष्ट्रेलियाको पिआरवालालाई रोजेर इन्गेजमेन्ट गरेको भेटियो । एक जना मान्छेको इन्गेजमेन्ट जीवनमा कति चोटी हुन्छ ?
एउटा श्रीमानले श्रीमतीलाई पद र प्रतिष्ठामा पुर्याउन कति श्रम, त्याग गर्छ त्यसको हिसाब कसैले खोज्दैन/सोध्दैन । भन्छन् लोग्ने मान्छे भएर रुनु हुँदैन । तर पछिल्लो एक महिना नरोएको पल छैन । उनीसँग सबैथोक छ । तर म रित्तो छु । केही समय अगाडि यस्तै गरी श्रम गरेर श्रीमतीलाई प्रहरीमा जागिर खुवाउने एक जना साथीले उही नियति भोगेका रहेछन् । विदेशमा श्रम बेचेर श्रीमतीलाई सुब्बामा नियुक्ति दिलाएका एक साथीको घरबार समेत उपसचिव हावी हुँदा भत्किएको खबर यही पत्रिकामा पढेको थिएँ । यसरी पुरुषलाई रुवाएर कहिलेसम्म हाँस्छन् होला ती महिलाहरु ?
‑ पशुपति न्यौपाने, नुवाकोट
टिप्पणीहरू