अर्थमन्त्रीसँग सहमति तर आन्दोलन जारी

अर्थमन्त्रीसँग सहमति तर आन्दोलन जारी फाइल फाेटाे

सेवासुविधा कटौती नगर्ने अर्थमन्त्रीसँग भएको सहमतिपछि पनि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् । अर्थमन्त्री रामेश्वर खनाललाई सहमति कार्यान्वयन गर्न दबाब दिँदै उनीहरुले कार्यालयमा दैनिक एक घण्टा शान्तिपूर्ण प्रदर्शन गर्दै आएको बताए ।

कर्मचारीहरुले आज पनि ललितपुरको खुमलटारस्थित बोर्ड परिसरमा एक घण्टा प्रदर्शन गरेका थिए । कर्मचारी कल्याणकारी कोष र सुरक्षण कोष खारेज गर्ने अर्थ मन्त्रालयको गत असोज २ गतेको पत्रपछि कर्मचारीहरु आन्दोलित छन् ।

उनीहरुले काम नै ठप्प पारेपछि कात्तिक २३ गते अर्थमन्त्री खनालसहितको उपस्थितिमा कोषसम्बन्धी व्यवस्था कर्मचारी सेवा शर्त नियमावलीमा समावेश गर्ने सहमति भएको थियो । सो व्यवस्था नियमावलीमा समावेश नभएसम्म दैनिक बिहान १० बजेदेखि ११ बजेसम्म बोर्ड प्राङ्गणमा धर्ना दिने कर्मचारीहरुको भनाइ छ ।

बोर्डमा झैँ अन्य सरकारी बैंक, संस्थान र नियमनकारी निकायमा समेत रहेको यस्तो सुविधाको बारेमा धेरैले विरोध जनाएका छन् । अन्तरिम सरकारले यस्ता सुविधा हटाउने प्रयास गरेपनि आफैँ पछाडि हटेको अवस्था छ ।

टिप्पणीहरू