हट्याे तीन जनाकाे स्थानहद

हट्याे तीन जनाकाे स्थानहद

जेनजी आन्दोलनपछि बयानका लागि काठमाडौं उपत्यका छोड्न वा विदेश जान रोक लगाइएका तीन जनाको स्थानहद फुकुवा गरिएको छ । 

तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको स्थानहद फुकुवा भएको हो । 

घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज विज्ञप्ति जारी गर्दै उनीहरुसँग बयान लिइसकेकोले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरिएको जानकारी गराएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘पूर्वनिर्णयउपरको कार्य सम्पन्न भइसकेकोले निजहरुको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२–०९–०७ मा निर्णय भएकोले सोही व्यहोरा निर्णयानुसार अनुरोध छ ।’

गत भदौ २३ र २४ गतेको घटनाबारे बयानका निम्ति बोलाउन आयोगले गत असोज १२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव दुवाडी, काठमाडौं सिडिओ रिजाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई स्वीकृतिबेगर उपत्यका छोड्न र विदेश जान रोक लगाएको थियो । 

त्यस्तै, कात्तिक २७ गते तत्कालिन आईजीपी खापुङ पनि स्थानहदमा परेका थिए । शुरुमा गुप्तचरका तत्कालिन प्रमुख थापाको बयान सकिएकोले स्थानहद फुकुवा गरिएको थियो । अब तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र स्थानहद कायमै छ ।

टिप्पणीहरू