मन्त्री छिटो पठाउन हारगुहार,भोलि दिउँसो  परराष्ट्रको शपथ

मन्त्री छिटो पठाउन हारगुहार,भोलि दिउँसो  परराष्ट्रको शपथ

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच आज मन्त्री पठाउन ढिलाइ भएकोवारे साँझ टेलिफोन वार्ता भएको छ । काँग्रेसको आन्तरिक भागबण्डा नमिलेको कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएकोमा प्रधानमन्त्रीले सामान्य असन्तुष्टि राख्नुभएको बताइएको छ । 

काँग्रेसभित्र शेखर कोइराला समूहले आफूले चाहेको संख्यामा मन्त्री नपाएसम्म सभापतिलाई नाम सिफारिस नगर्ने अडान लिएपछि  काँग्रेसले गर्न बाँकी ४ मन्त्री र एक राज्यमन्त्रीको सिफारिस रोकिएको छ । कोइराला समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाउने सहमति भए पनि उक्त समूहमा मन्त्रीका आकांक्षी धेरै भएकाले सहमति जुट्न सकेको छैन । 

प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणको निम्ति विभागीयमन्त्री नियुक्त नभएपछि कूटनीतिक समस्या उत्पन्न हुँदा प्रधानमन्त्रीले  नाम सिफारिस गर्न देउवालाई आग्रह गर्नुभएको हो । काँग्रेसको भागमा परेको परराष्ट्रमन्त्रीमा सुदूरपश्चिमका नेता एनपी साउदलाई भोलि नियुक्त गर्ने सहमति भएको छ ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा दुबैजना सांसद प्रदीप पौडेललाई मन्त्री बनाउने पक्षमा देखिएका छन् । तर सभापति देउवा पौडेलको नाममा हालसम्म सकारात्मक नबनेपछि काँग्रेसभित्रको राजनीतिक गाँठो झन कसिलो भएको छ ।

आफ्ना मन्त्रीको नाममा सहमति जुट्न नसकेपछि काँग्रेसले बारा,चितवन र तनहुँमा आगामी १० गते हुने उपनिर्वाचनपछि मात्रै सरकार विस्तार गर्न प्रधानमन्त्रीलाई सुझाव दिने तयारी गरिरहेको बेला प्रधानमन्त्रीले सभापति देउवासँग टेलिफोन वार्ता गर्नुभएको हो ।

साउद कञ्चनपुर २ बाट निर्वाचित सांसद र नेपाल विद्यार्थी संघका भूतपूर्व अध्यक्ष पनि हुन् ।

टिप्पणीहरू