गृहमन्त्रीले सुरक्षा निकायलाई गौरव गर्न लायक बनाउने
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाब र चलखेलबाट मुक्त गरिने बताउनुभएको छ । आज गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सुरक्षा निकायलाई गौरव गर्न लायक बनाउन प्रणाली स्थापित गर्ने र निश्पक्षताका आधारमा पदस्थापना, बढुवा र सरुवा गरिने पनि दाबी गर्नुभएको छ ।
फरक प्रसंगमा उहाँले मीटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले काम अघि बढाइसकेको पनि जानकारी दिनुभयो । त्यसका लागि अधिकार सम्पन्न आयोग बनाएको र काम थालिसकेकाले पीडितहरुलाई न्याय दिने सरकारको प्रतिबद्धतामा आशंका नगर्न आग्रह गर्नुभयो ।
‘मीटरब्याजबाट पीडितहरुको समस्या समाधानका लागि सरकारले अधिकार सम्पन्न आयोग बनाएको छ । अब सबै पीडितका समस्या समाधान गरिनेछ र उनीहरुलाई न्याय दिन प्रतिबद्ध रही ‘होलिस्टिक एप्रोच’ बाट समाधानका लागि प्रक्रिया अघि बढाएको छ’, उहाँले भन्नुभयो ।
मीटरब्याज पीडितहरुमाथि हिजो भएको बल प्रयोगबारे छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको पनि गृहमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको उहाँको भनाइ छ ।
गृहमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न संक्रमणकालीन न्यायका बाँकी काम हरहालतमा पूरा गर्ने अठोट पनि पत्रकारहरुलाई सुनाउनुभयो ।
टिप्पणीहरू