प्रहरी दमनविरुद्ध ‘मानव अधिकार मार्च’ को तयारी
मीटरब्याज पीडितमाथि प्रहरीले गरेको दमनविरुद्ध बृहत नागरिक आन्दोलनले भोलि ‘मानव अधिकार मार्च’ गर्ने भएको छ । मीटरब्याज पीडितहरुमाथि हिजो प्रहरीले अनावश्यक, निर्मम र अमानवीय दमन गरेको भन्दै मानव अधिकार मार्च आह्वान गरिएको बताइएको छ ।
एकातिर मीटरब्याजजस्तो अत्याचारी र अलोकतान्त्रिक व्यवस्थाको चरम शोषण र आतंकमा मजदुर किसान रहेको, अर्कोतिर उनीहरुको न्यायको संघर्षमाथि नै निर्मम दमनमा उत्रेर सरकारले मानव अधिकार र लोकतान्त्रिक मान्यताको ठाडो उल्लंघन गरेको उनीहरुको आरोप छ ।
मानव अधिकार उल्लंघन गर्ने दोषीहरुको छानबिन गरी कारबाही गर्न उनीहरुले जोडदार माग गरेका छन् । ‘शान्तिबाटिकाबाट समातिएका पीडितहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गर्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुरक्षा दिनुपर्ने भूमिकामा रहेको प्रहरीले शान्तिबाटिकामा भएको किसानका भान्छामा क्षति पनि पुर्यायो । यो घटना गम्भीर मानव अधिकारको हनन् हो ।’
साथै, यस्तो गम्भीर विषयमा राजनीतिक दल, जिम्मेवार संघ संस्था र विभिन्न आयोगले देखाइरहेको उदासीनता समेत उदेकलाग्दो रहेको विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू