माननीय हुस्सु हुँदा १४२ जना मर्माहत

माननीय हुस्सु हुँदा १४२ जना मर्माहत

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालका कारण काठमाडौंबाट उड्न ठिक्क परेको एउटा अन्तर्राष्ट्रिय उडान आधा घण्टा ढिलो भएको छ । बैंगलोर जान लागेको नेपाल वायुसेवाको उडान नम्बर आरए २२५ को विमान सबै हिसाबले ठीक दुरुस्त हुँदा पनि अर्यालले घरबाट पासपोर्ट वा नागरिकता नल्याउँदा गत शनिवार दिउँसो उडान ढिलो हुन पुगेको थियो । वैशाख २ गते शनिबार दिउँसो पौने २ बजेको सेड्युलमा रहेको विमान साढे १ बजे यात्रु र लगेज भरेर समयमै उड्न ठिक्क परेको थियो । तर, भिआइपी कक्ष प्रयोग गरेर ढिलो विमानस्थल पुगेका अर्यालले साथमा राष्ट्रिय राहदानी र नागरिकताको सट्टा परिचयपत्र मात्र बोकेको बताइन्छ । 

विमानस्थलस्थित निगमको यात्रु चेक इन काउण्टरका कर्मचारीले भारतमा नेपाली नागरिकता वा राहदानी मात्र वैध रहेको जनाउँदै बोर्डिङ पास नदिएपछि उनले बालाजुस्थित घरबाट नागरिकता मगाएका थिए । उनको नागरिकता कुरुञ्जेल उडान एक घण्टा ढिलो गरेर पौने २ बजे उड्नुपर्ने विमान सवा २ बजे मात्र उड्न सक्यो । बिना कारण विमानभित्रै एक घण्टासम्म बस्नु परेपछि यात्रुहरू रिसले आगो भएका थिए । तीमध्ये एक जनाले भने, ‘एउटा लहडी सांसदको सहजताको निम्ति उडान रोकेपछि त्यस्तो मुलुकको ध्वजावाहक कम्पनीको हालत के हुन्छ ? अन्तर्राष्ट्रिय उडानमा जाँदा राहदानी लैजानुपर्ने मान्यतालाई मन्त्री भइसकेको र पटकपटक जापान उडिरहने मान्छेले किन पालना गरेनन् ? मुलुकमा सुशासन ल्याउने भनेर खुलेको नयाँ पार्टीका नेताको यो भुलचुकले के को संकेत गर्छ ?’ 

एक जना समानुपातिक सभासद्को लहडका कारण सयौं यात्रुलाई किन दुःख दिइयो ? अर्कोतर्फ भारतीय नागरिकलाई आधार कार्डको भरमा नेपाल आउने सुविधा हुँदा नेपालको राष्ट्रिय परिचयपत्रलाई किन मान्यता दिईंदैन भन्नेबारे गृह मन्त्रालयको जिम्मेवारी लिइसकेका रास्वपाका नेताहरू किन यस्तोमा खबरदारी गर्दैनन् ? यो विषय प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा उठाइन्छ कि उठाईंदैन ? पासपोर्ट लिनको निम्ति नभई नहुने यस्तो कार्ड भारतले समेत पत्याउँदैन भने त्यही परिचयपत्र बनाउन भर्खरै करोडौँको भ्रष्टाचार मुद्दा लागेर निलम्बित विकल पौडेलहरूको उक्साहटमा नेपाली नागरिकलाई किन बाध्य बनाइयो ? अनि यसमा अरबौं रूपैयाँ किन खर्च गरियो ? शनिबारको विमान उडानमा गरिएको हेल्चेक्रयाईंका कारण यस्ता प्रश्न उठेका छन् । रविका माननीयले नागरिकता वा राहदानी नबोकेका कारण कुराइएको उक्त उडानमा १४२ यात्रु र राजेशकुुमार कुशवाहा पाइलट थिए । भारततर्फको उडानमा नेपाली नागरिकले राहदानी र नागरिकता बोकेर यात्रा गर्न सक्छन् । तर अन्य कागजातलाई मान्यता नदिएकाले ती बाहेक अन्य उपायले उड्न खोज्ने यात्रु उडाएमा सम्बन्धित विमान कम्पनीलाई कारबाहीस्वरूप प्रतियात्रु १ लाख भारतीय रूपैयाँ तिराउने नियम छ ।
 

टिप्पणीहरू