घरको सटरमा सञ्चालित पेट्रोल पम्पमा महानगरको सिल, को हुन् सञ्चालक ?
घरको सटरमा सञ्चालन भइरहेको बालाजुको एक पेट्रोल पम्पमा काठमाडौँ महानगरपालिकाले सिलबन्दी गरेको छ । बालाजु चोक जाने बाटोको देव्रे साईडमा रहेको एक घरको पेटीमा सञ्चालित कोत: धुकु आयल स्टोर महानगरले आज सिल गरेको हो ।
मापदण्ड विपरित संचालन गरेको भन्दै महानगरले नगर प्रहरी खटाएर आज मध्याह्न १२ बजेको समयमा पम्प सिल गरेको बताइएको छ ।
सडक छेउमै सञ्चालित उक्त पेट्रोल पम्पका कारण सवारी जाम बढ्नुका साथै असुरक्षा पैदा भएपछि नेपाल आयल निगमसँगको समन्वय र सहमतिमा महानगरले हटाएको हो । पम्पमा सिल गर्न काठमाडौं महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको नेतृत्वमा दुई दर्जन बढी नगर प्रहरीहरु त्यहाँ पुगेका थिए ।
मापदण्ड मिचेर पेट्रोल पम्प चलाउने व्यक्ति नमराज भट्ट हुन् । यसअघि महानगरले त्यसरी पम्प संचालन नगर्न आग्रह गरेपनि उनले अटेरी गरेको महानगरको भनाई छ ।
टिप्पणीहरू