गोरखापत्र संस्थानको वार्षिकोत्सवमा धर्ना दिने तयारी
श्रमजीवी पत्रकार संघ, नेपालले गोरखापत्र संस्थानमा धर्ना दिने भएको छ । यहि बैशाख २४ गते आयोजना गर्न लागिएको संस्थानको वार्षिकोत्सवमा संघले आन्दोलन गर्न लागेको बताइएको छ ।
मुलुकको ठूलो सरकारी सञ्चारमाध्यम गोरखापत्रमा बेथिति बढ्दै गएको संघको ठम्याइ छ । संस्थानले लामो समयदेखि काम गरेका श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुलाई स्थायी प्रक्रियामा भर्ना नगरेको र तोकिएकोबमोजिम सेवासुविधासमेत नदिएको विरोधमा आन्दोलन गर्न लागिएको हो ।
संघले श्रमजीवी पत्रकार, कर्मचारी र कामदारहरुको माग तत्काल सम्बोधन गर्न संस्थान नेतृत्वलाई आग्रह गरेको छ । त्यस्तै, संस्थानको विनियमावली कानुनसम्मत नबनाएको, ऐनविपरीत विष्णु खनाललाई निलम्बन गरिएको र कर्मचारी कल्याण कोषमा लामो समयदेखि कट्टी रकम जम्मा नभएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

आज बुझाइएको ध्यानाकर्षमा गुणस्तरहीन कागज खरिदका कारण पत्रिकाको स्तर घटेको, संस्थानमा आर्थिक अनियमितता बढेको, तीन करोड ७० लाख २३ हजार नाफाबाट छुट्याइएको रकमको बोनस वितरण गर्न नसकेको, दरबन्दी नै नभएको स्थानमा नियमावलीविपरीत सरुवा गरेकोलगायत गुनासो आएको उल्लेख गर्दै संघले त्यसलाई तत्काल समाधान गर्नुपर्ने विषय समेटेको छ ।
अन्यथा, चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिँदै भनिएको छ, ‘धर्नासँगै कार्यालय घेराउ, तालाबन्दीलगायत संघर्षका कार्यक्रम गरिने छ ।’
बैशाख २४ गते हुने संस्थानको वार्षिकोत्सवका दिन धर्ना दिने र क्रमशः घेराउ, तालाबन्दीलगायतका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ । बुझाइएको पत्रमा भनिएको छ, ‘संगठनले गर्ने संघर्षका कार्यक्रमबाट सिर्जित जस्तोसुकै परिस्थितिको जिम्मेवार व्यवस्थापन पक्ष र सम्बन्धित सरोकारवाला नै हुने पनि पत्रमार्फत स्पष्ट पार्न चाहन्छौं ।’
टिप्पणीहरू