कानुन व्यवसायीहरुको धर्ना जारी, प्रधानन्यायाधीशको नियुक्ति प्रमुख माग
नेपाल बार एशोसिएशनले तत्काल प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आन्दोनमा उत्रिएको नेपाल बारले आज तेस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेको छ ।
बारको अगुवाइमा भएको प्रदर्शनमा वकिलहरुले ‘संवैधानिक दायित्व पूरा गर’, ’प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर’, ’सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर’ लेखिएका प्लेकार्ड देखाएका हुन् ।
प्रदर्शनकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बार अध्यक्ष गोपालकृष्ण घिमिरेले छिट्टै प्रधानन्यायाधीश नियुक्ति गर्न आग्रह गर्दै अन्यथा आन्दोलन थप सशक्त बनाउने चेतावनी दिए । बारले उठाएको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने उनको भनाई छ ।
तर, अहिलेसम्म नियुक्ति प्रक्रियाअघि नबढ्दा आफूहरु निराश भएको भन्दै अध्यक्ष घिमिरेले जारी आन्दोलन एक हप्तासम्म रहने र माग पूरा नभए पुनः आन्दोलन गर्ने जानकारी दिए ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि २०७८ फागुन १ गते महाभियोग दर्ता भएयता सर्वोच्च अदालत कायममुकायबाट सञ्चालन भइरहेको छ । चोलेन्द्र निलम्बनमा परेपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश तोकिनुभयो । चोलेन्द्र महाभियोग बोकेरै अनिवार्य अवकाशमा गएपछि दिपककुमारको पनि अवकाश भएको हो । अहिले हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।
सरकारले प्रधानन्यायाधीश नियुक्तिको सुरसार गरे पनि संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित हुन नसक्दा कानुनी अड्चन रहेको बताइएको छ ।
टिप्पणीहरू