फिर्के खोलामा महानगरको डोजर चल्यो

फिर्के खोलामा महानगरको डोजर चल्यो

पोखरा महानगरपालिकाले वडा नम्बर १८ अधेंरीखोली बेसीमार्गस्थित फिर्के खोलामा निर्माण गरिएको पर्खालमा भत्काइदिएको छ ।  

महानगर प्रहरीको टोलीले मापदण्डविपरीत निर्माण गरिएको सो पर्खाल डोजर लगाएर आज हटाएको हो । भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मीटर लामो ‘रिटेनिङ वाल’ भत्काइएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । 

मापदण्डविपरीत संरचना निर्माण भइरहेको सूचना पाएपछि अनुगमनमा पुगेको नगरप्रहरीले निर्माण व्यवसायी र जग्गाधनीलाई तत्काल निर्माण रोक्न आग्रह गरेको थियो । तर, पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर चलाउनुपरेको उनको भनाई छ । 

खोला मिचेर निर्माण गरिएका सबै संरचना क्रमशः हटाउँदै जाने तयारीमा महानगरपालिका लागि परेको मेयर धनराज आचार्यले बताए । 

फिर्के खोला संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले मापदण्डविपरीत कुनै पनि संरचना निर्माण नगर्न आग्रह गरेका छन् ।
 

टिप्पणीहरू