रवि रन्किनुको रहस्य

रवि रन्किनुको रहस्य

ध्यान र चिन्ता सबैका अलग–अलग छन् । एमालेलाई संसद्मा एउटा सदस्य मात्रै क्षति हुँदा ठूलै मार पर्ने, रवि लामिछानेलाई कतै, कुनै सांसदको पद रिक्त भइदिए आफ्नालाई जिताएर ल्याउँछु भन्ने ध्याउन्न । 

यही भएर एमालेले ‘बिरामी भएर उपचार गर्दै छु’ भन्ने आफ्ना सांसद लक्ष्मी महतो कोइरीलाई टिकाउनुपरेको छ । रविलाई उनी कारबाही हुँदा आफ्नो एक सिट बढ्ला भन्ने आश छ । तर, कानुनतः संसद्का लगातार २१ वटा बैठकमा अनुपस्थित भएका कारण कोइरीमाथि निलम्बनका प्रक्रिया शुरु हुने नै भयो । एमालेले कोइरीले ‘बिरामी छु’ भनी लेखेको पत्र सीधै सभामुखलाई बुझायो । तर, संसद सचिवालयले प्रहरीको पत्रका आधारमा उनी फरार भएको बुझेर निलम्बनको प्रक्रिया अगाडि बढाउने भएको छ ।

त्यसमाथि २१ वटा बैठकमा लगातार अनुपस्थित हुँदा जोसुकै सांसद पनि स्वतः निलम्बन हुने व्यवस्था छ । त्यसो त एमाले संसदीय अभ्यासमा नयाँ पार्टी होइन । तर, कोइरीलाई सभामुखकै तहबाट बचाउन सकिन्छ भनेर सीधै उनको पत्र सभामुखलाई दिइँदा एमालेका निम्ति ‘ब्याक फायर’ भएको छ । उपचारका कारणको बिदा स्वीकृति वा निलम्बन प्रक्रियाको लेखापढी संसद सचिवालयका कर्मचारीबाट हुनुपर्ने हो । सभामुखले अन्तिममा निर्णयलाई सदर गर्ने मात्रै हो । तर, सीधासिधी कारोबार गर्न खोजिँदा एमालेले मार खाएको छ ।

अर्कातिर, सभामुख र उपसभामुख निर्वाचनमा भाग लिँदा एउटै लाइनमा बसेर मतदान गर्ने रवि लामिछानेले उपनिर्वाचनबाट जितेर संसद छिर्नेबित्तिकै उनै कोइरीलाई ‘फरार सांसद’ देख्न पुगे । पुस १० मा गठित सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा कोइरीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउनु भन्ने उच्च अदालतको पत्र संसद सचिवालयमा हुँदाहुँदै पनि रविकै कारण कारबाही रोकिएको थियो । किनभने, उनी त्यसबेला एमालेको समर्थनमा उक्त पदमा आसीन थिए ।

अहिले ‘कोइरी फरार हुन्, उनी भारतमा लुकेको प्रमाण मेरो मोबाइलमा छ’ भन्दै संसदमै मोबाइल नै तेस्र्याउने स्थितिमा पुगेका छन् । उनको अलग्गै स्वार्थ छ । सशस्त्र प्रहरीका असई थमन विक हत्याबारे कोइरीमाथि लागेको फौजदारी अभियोग ठहर भयो भने उनी संसद सदस्यबाट स्वतः बर्खास्त हुन्छन् । त्यसपछि उनी निर्वाचित भएको महोत्तरी– १ मा उपनिर्वाचन हुन्छ । रविलाई लागेको छ कि, यो देशका ढुंगा–माटोसम्म सबै उनका मतदाता भइसके । कोइरीको पद रिक्त हुनासाथ उपचुनावबाट थप एक सांसद आर्जन गर्छु भन्ने उनको हिसाब छ ।
 

टिप्पणीहरू