कञ्चनपुरका सिडियो र ललितपुरका उपमेयरलाई ज्ञापन, माग पूूरा नभए क्रान्तिकारीको आन्दोलन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज ललितपुर महानगरका उपप्रमुख र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । विप्लव निकट क्रान्तिकारीको जिल्ला समितिले शिक्षा क्षेत्रमा सुधारको माग गरेको छ ।
कञ्चनपुर समितिले सामुदायिक विद्यालयको गुणस्तर सुधारको निम्ति विशेष योजना बनाएर कडाइपूर्वक लागु गर्न १९ बुँदे माग पेश गरेको बताइएको छ ।
निजी तथा सामुदायिक विद्यालयहरुले विभिन्न शीर्षकमा चर्को शुल्क लिएको, सरकारी विद्यालयले अंग्रेजी माध्यमबाट पढाउने नाममा निजी पब्लिकेशनका पाठ्यपुस्तक खरिद गर्न बाध्य बनाएकोलगायत आरोप ज्ञापनपत्रमा उल्लेख छ ।
अंग्रेजी पाठ्यक्रम तथा सहयोग शुल्कको नाममा विद्यालयले तोकेको शुल्क तत्काल खारेज गर्नुपर्ने क्रान्किारीको माग छ । सामुदायिक विद्यालयमा सूक्ष्म अध्ययन र अनुगमन गर्न जरुरी देखिएको उसको ठहर छ ।
शिक्षक, कर्मचारी नियुक्ति र सरुवा बढुवा गर्दा हुने राजनीतिक भागबण्डाको अन्त्य गर्न, विद्यालयमा आवश्यक दरबन्दी कायम गर्न, निजी विद्यालयको मूल्याङ्कन गरी मापदण्डअनुरुप भागबण्डा गर्न आग्रह गरिएको छ ।
निजी तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उचित पारिश्रमिक सार्वजनिक गर्न, विद्यार्थीले प्राप्त गर्ने १० प्रतिशत छात्रवृत्ति कडाइपूर्वक लागु गर्न र छात्रालाई विद्यालयमा स्यानटरी प्याडको निःशुल्क व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ । आफ्ना माग पूरा नभए संघर्षका कदम चालिने चेतावनी दिइएको छ ।


टिप्पणीहरू