यी हुन् क्याबिनेट बैठकका आधा दर्जन निर्णय

यी हुन् क्याबिनेट बैठकका आधा दर्जन निर्णय

सरकारले विदेशबाट फर्किंदा दुइवटा मोबाइल ल्याउन पाइने लगायतविभिन्न छ वटा निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । 

बैठकले कृषि वनसेवा समितिका सहसचिव रेवतीरमण पौडेललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, इसिमोड बोर्ड अफ गभर्मेन्ट मिटिङमा सहभागिताको निम्ति राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । 

सहकारी सुधार क्षेत्रका लागि कार्यदल गठन गर्ने अर्को महत्वपूर्ण निर्णय भएको बताइएको छ । त्यस्तै, यात्रुहरूले आफ्नो साथमा ल्याउने र लैजाने निजी र व्यक्तिगत सामानसम्बन्धी सूचना नियमावली संशोधन गर्ने र नेपाल व्यापार एकीकृत रणनीति स्वीकृति गर्ने क्याबिनेटबाट निर्णय भएको छ ।

त्यसैगरी, ढल्केबर–बाणगंगा १३२ केभी प्रशारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र कार्यालय सञ्चालनको निम्ति अधिकारी तोक्ने विषय पनि क्याबिनेटले टुंग्याएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, शहरी विकासमन्त्री सीता गुरुङ्गको उपस्थिति थियो ।

अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कृषिमन्त्री डा.बेदुराम भुसाल, श्रममन्त्री शरतसिंह भण्डारी, खानेपानीमन्त्री महिन्द्रराय यादव, महिलामन्त्री सुरेन्द्रराज आचार्य, शिक्षामन्त्री अशोक राई, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी पनि बैठकमा हुनुहुन्थ्यो ।

टिप्पणीहरू