कमरेडहरू जब धतुरो झार्न कस्सिए

कमरेडहरू जब धतुरो झार्न कस्सिए

‘ग्रास’ हैन, ‘टप रुटमा’ जाने स्वर निकाल्दै एमालेको तल्लो तहका नेताहरूले नेतृत्वलाई भनेका छन्, ‘अब कागजी कुरा गरेर नबसौं !’

एमालेले सम्पूर्ण तहको निर्वाचन सम्पन्न भएपछि भुइँतहसम्म पार्टी गतिविधि पुर्याउने उद्देश्यसाथ सञ्चालन गरेको ‘मिशन ग्रासरुट’ को समीक्षा गर्न केही दिनअघि भेला भएका बागमती प्रदेशस्थित केन्द्रीय र जिल्ला तहका नेताले नेतृत्वको रवैयाप्रति खुलेर आलोचना गरे । उनीहरूले भने, ‘ग्रास रुट’ अर्थात् तल्लो तहलाई परीक्षण गरेर पार्टी रहने कि सकिने कुराको निर्धारण हुँदैन । अब पार्टी जीवन र आन्दोलनको रक्षा गर्ने हो भने ‘टप रुट’ अर्थात्, माथिल्लो तहको परीक्षण जरुरी छ । शीर्ष तहले समकालीन राजनीतिक, सामाजिक तथा आर्थिक वस्तुस्थितिसँग आफूलाई घुलमिल गर्न सक्छ कि सक्दैन ? सामाजिक तथा सांस्कृतिक जीवनका बढ्दा चुनौति, युवा लहर र पार्टीमा भएको क्षतिसँग साक्षात्कार गर्ने, समस्या हल गर्ने र समसामयिक भूमिका निर्वाह गर्ने कुरामा मूल नेतृत्व सक्षम छ कि छैन भन्ने कुरा नहेरी अगाडि बढ्नुको कुनै अर्थ नहुने अधिकांशको सुझाव थियो ।

त्यसरी बागमतीका एमालेहरू वैशाख १७ र १८ गते समीक्षामा जुटेलगत्तै पार्टीले झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने गरी सारेको थियो । त्यसअघि केपी ओली पूर्वतिर हुँदा प्रदेशको नामाकरणलाई लिएर तीव्र आलोचनामात्र भएन, घेराऊ र मुठभेडसम्मका घटना पनि देखिए । सिंगो केन्द्रीय कमिटीलाई झापा लैजाँदा सात वर्ष पहिलेको मेची–महाकाली अभियानताका सप्तरीमा भएको रक्तपातपूर्ण घटना दोहोरिन सक्ने खतरालाई दृष्टिगत गर्दै बैठक काठमाडौंमा सारिएको चर्चा चलाइयो । अधिकांशले भद्रपुरको प्लेन टिकट लिइसकेका थिए । बढीजसोले फिर्ता नहुने सस्तो टिकट लिएका थिए । त्यस्तो टिकटलाई ५६ सयसम्म पर्छ । बैठक सर्दा दुःखजिलो गरी किनेको ननरिफन्डेबल टिकट त्यसै स्वाहा भएको भन्दै कतिपयले दुःख मनाउ गरेका थिए ।

समीक्षा बैठकमा पार्टीबाट घनश्याम भुसाल बहिर्गमनको ‘साइड इफेक्ट’ देखिन्थ्यो । कसरी भने, रामेछापका पार्टी अध्यक्ष आनन्द श्रेष्ठले महासचिव शंकर पोखरेलको कुरामा खुलेर आलोचना गरे । अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पनि भन्न केही बाँकी राखिनन् । गोकुल बाँस्कोटासहितका नेताले पनि बोले । तर, उनीहरूले नेतृत्वको धेरै आलोचना गरेनन् । आनन्द र उषा विगतमा घनश्यामनिकट भनी चिनिन्थे । 

महासचिव शंकरले पार्टीको कार्यदिशा स्पष्ट भएको भन्दै राजनीतिक र वैचारिक क्षेत्रको विकासका निम्ति पार्टीमा उपलब्ध दस्तावेज तलसम्म पु¥याउनुपर्ने भाषण गरेपछि आनन्दको टिप्पणी रह्यो, ‘यस्ता कुरा नगरौं कमरेड १’ उनको भनाइ थियो, ‘पार्टीको लिखतमा के–के छ, त्यो कुरा नगर्नुस् । कागजमा यसो–यसो लेखेका छौं भनेर जनताले भोट हाल्ने दिन गए । हामीले लेखेका कुराहरूको जनतामा कस्तो धारणा छ, प्रतिक्रिया के छ ? यसरी सोचौं ।’ उनले यस्तै कुरा गरेर बस्ने हो भने पार्टीको पतन नेताबाटै शुरु हुने बताए । 

शंकरसहितका नेताले हालै सम्पन्न उपनिर्वाचनमा ‘कम्तीमा उम्मेदवार त उठायौं’ भन्दै चित्त बुझाए । जबकि, अघिल्ला निर्वाचनमा जित्दै आएको चितवनमा पार्टीले हार्योमात्रै हैन, तेस्रो भयो । तनहुँमा दोस्रो हुनुपर्ने, त्यहाँ पनि उही हविगत । बारामा दोस्रो हुने ठाउँ थियो, तेस्रो भयो । यो कुरालाई नेतृत्वले ‘क्षति’ का रुपमा ग्रहण गरेन । नेताका यस्ता तर्क सुनेपछि कुरा उठ्यो, संगठित सदस्यता वितरणबारे । ‘सदस्यता लियो, भेला, प्रशिक्षण र बैठकमा धायो, मौका पाउने बेला पार्टीलाई व्यापारी चाहिने । युवा र विद्यार्थीलाई वैचारिक बनाइएन, चुल्ठे र मुन्द्रे बनाएर मैदानमा पठाइँदा जनताले पार्टीलाई पत्याउन छाडे ।’ उनीहरूले संगठित सदस्यता केन्द्रबाट दिने प्रचलन अन्त्य गरी जिल्लाबाट दिने र संगठित सदस्यहरूको संरक्षण र उनीहरूको मनोभावनासँग नेतृत्वले नियमित साक्षात्कार गर्नुपर्ने अडान राखे । 

विद्यार्थी पृष्ठभूमिबाट विकास भएकी उषाकिरणले अहिले पार्टीले लिएको बाटो ‘पतनको बाटो हो, जति ठूला कुरा गरे पनि आफ्ना नेता, कार्यकर्ताबीच हो, जनताले त हामीलाई छोड्दै गएको कुरा पछिल्ला चुनावहरूमा पनि देखियो नि !’ भन्दै थपिन्, ‘मंसिरकै चुनावमा पार्टीले प्रत्यक्षतर्फ जितेको जम्मा ४४ सीट न हो । समानुपातिकमा कति आयो ? कांग्रेस र माओवादीभन्दा हामी कति प्रतिशतले अगाडि भयौं, यस्ता हिसाब नगरौं । कांग्रेससँग झिनो प्रतिशतको अन्तर न हो !’ उनले अहिलेको एमालेले रुपान्तरणको कुनै कार्यक्रम बोक्न सक्दैन भन्दै नेतृत्व नै सच्चिनुपर्ने धारणा राखिन् । 

पछिल्ला निर्वाचनमा एमालेले काठमाडौंमा सबभन्दा डरलाग्दो क्षति व्यहोर्नुपरेको कुरा पनि उठ्यो । त्यसपछि गोकुल बाँस्कोटाले ‘अन्तरपार्टी संरचना बलियो बनाउनुपर्छ’ भन्दै भएको क्षतिलाई समाप्तिको दृष्टिले बुझ्न नहुने विचार राखे । दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले अहिलेको व्यवस्थामा वडाध्यक्ष शक्तिशाली हुने भन्दै ‘सांसद, मन्त्री भएर के हुन्छ ? सांसदले वडाध्यक्षजत्तिको काम पनि गर्न सक्दैन’ भने । मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले खर्चालु निर्वाचन प्रणालीका कारण कार्यकर्ता तहमा निराशा रहेको बताए । ‘वडाध्यक्ष उठ्दा पनि थला पर्ने चुनाव प्रणालीबाट हामी कहाँ पुग्छौं ? यसको सुधार गर्ने काम हामीबाटै हुनुपर्ने हैन र ?’, उनको भनाइ थियो ।

त्यहाँ बागमती प्रदेशको १३ जिल्लाका पार्टी अध्यक्ष र मिशन ग्रासरुटमा खटिने नेताको उपस्थिति थियो । यसबीचमा पार्टीको केन्द्रीय समिति र स्थायी समिति बैठक समेत सम्पन्न भइसकेको छ ।

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू